५ कराेडको लागतमा नेपालकाे पहिलाे एनिमेटेड फिल्म ‘चन्द्रागिरी वारियर्स’ बन्दै

Thankot Times

थानकोट ।

नेपालमा पहिलो पटक एनिमेटेड फिल्म बन्ने भएको छ। इन्द्र बलामीको निर्देशनमा ‘चन्द्रागिरी वारियर्स’ नामक एनिमेटेड फिल्म बन्ने भएको हो। 

नेपालका लागि नयाँ अभ्यास भए पनि विश्व सिनेमामा भने एनिमेटेड फिल्मका दर्शकको संख्या उल्लेख्य छ। यस्तैमा पहिलो पटक नेपाली एनिमेटेड फिल्म बन्ने भएको हो।

‘इन्क्रेडिबल्स’, ‘फाइन्डिङ डोरी’, ‘टोए स्टोरी’, ‘मिनियन्स’, ‘फ्रोजन’, ‘द लायन किङ’ लगायतका फिल्म नेपालमै पनि राम्रो व्यापार गर्ने फिल्ममध्ये पर्छन्।  

नेपालकै जनशक्तिको प्रयोग गरेर बनाउन लागिएको फिल्मको अनुमानित बजेट ५ करोड रूपैयाँ रहेको बताइएको छ। माया एनिमेशनले निर्माण गर्न लागेको फिल्मलाई नेपालीसहित हिन्दी, नेवारी र अंग्रेजी भाषामा डब गर्ने तयारीमा निर्माण टोली रहेको छ।

यति वेला फिल्मको प्रि-प्रोडक्सनमा काम भइरहेको छ। डेढदेखि २ वर्षभित्रमा फिल्म तयार गरी हल तथा ओटिटी प्लाटफर्म दुवैतिर रिलिज गर्ने तयारीमा निर्माण टोली रहेको छ। 

सन् १९०८ मा फ्रान्सेली कलाकार एमिली कोलले बनाएको ‘फन्टासमागोरी’लाई पहिलो एनिमेटेड फिल्म मानिन्छ।

एनिमेटेड फिल्म व्यावसायिक रुपमा अन्य फिल्मसरह मानिन थालेको भने सन् २००० पछि हो। जोन फेब्रियूको निर्देशनमा बनेको ‘द लायन किङ’ सर्वाधिक कमाइ गर्ने एनिमेटेड फिल्ममा पर्छ। 

सन् २०१९ मा प्रदर्शनमा आएको फिल्मले बक्स अफिसमा १ दशमलव ६६ बिलियन अमेरिकी डलर कलेक्सन गरेको थियो। यो रकम ‘एभेन्जर्स’, ‘फास्ट एण्ड फ्युरियस’, ‘ह्यारी पटर’ जस्ता फिल्मको भन्दा पनि बढी हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *