पठाओको नाममा क‌लंकी चोकमा ट्याक्सीकै झल्को दिने बार्गेनिङ

Thankot Times

थानकोट ।

तपाईंलाई पठाओ चाहिएको हो ?

गत शनिबार साँझ त्रिपुरेश्वरमा थानकोटको गाडी पर्खिरहेकी सदिक्षा देवकोटा र उनकी दिदीलाई हेर्दै हातमा हेल्मेट बोकेका एक युवाले सोधे ।

उनीहरूले गाडी पर्खिरहेको जवाफ दिए । ती युवक सस्तोमा पुर्‍याइदिने प्रस्ताव गर्दै उनीहरू नजिकै आइपुगे । युवतीहरूले आफू गाडी पर्खिरहेको र दुई जना भएको कारण माेटरसाइकलमा जान नमिल्ने उत्तर दिए ।

‘ती युवकले अस्वभाविक रूपमा कर गर्न थाले । ट्राफिकले नदेख्नेगरी दुवैजनालाई पुर्‍याइदिन्छु भन्यो,’ उनले भनिन् ।
त्यहाँ एक जनाले मात्र होइन, हातमा हेल्मेट बोकेका धेरैले उनीहरूलाई आफू पठाओ चालक भएको भन्दै पुर्‍याइदिन्छु भने ।

त्यस्तै ४ कर्तिकमा सुमन तामाङ पोखरावाट काठमाडौं आए । साँझ करिब ७ बजे बालाजुमा ओर्लिएका उनलाई ६/७ जना मोटरसाइकल चालकले घेरे । उनीहरूले आफू पठाओ चालक भएको बताउँदै गन्तव्यमा पुर्‍याइदिने बताए ।

‘मलाई बालाजुबाट बालुवाटार गएको २ सय रुपैयाँ भन्यो । यो दूरी पठाओमै शुल्क अनुसार करिब १ सय २० रुपैयाँ मात्र पर्छ । त्यसबेला मसँग पठाओ एप नभएर उनीहरूले भनेकै शुल्कमा जान बाध्य भएँ,’ उनले भने ।

शुल्क धेरै भयो भन्दा रात परेको, बाटो खाल्डाखुल्डी भएको, कम्पनीलाई २० प्रतिशत कमिसन दिनुपर्ने लगायतको बहाना पारेको तामाङ बताउँछन् । यी चालकहरूको व्यवहारले केही वर्षअघिको ट्याक्सीकै बार्गेनिङको झल्को दिएको तामाङ सम्झन्छन् ।

पछिल्लो समय अफलाइनमा आफूलाई पठाओ हो भन्दै यात्रु ओसार्ने क्रम तीव्र छ । राजधानीको स्वयम्भु, कलंकी, कोटेश्वर, सामाखुसी, एयरपोर्ट, नयाँ बसपार्क लगायतका क्षेत्रमा यात्रुसगँ बार्गेनिङ गर्दै बसेका प्रशस्तै दुईपांग्रे चालक देख्न सकिन्छ ।

उपत्यकामा मात्र होइन आफूलाई पठाओ चालक भन्दै अफलाइनमा बार्गेनिङ गरेर यात्रु ओसार्नेहरू चितवनमा पनि बढ्दै गइरहेका छन् । यत्री मात्र नभएर सुरुमा अनलाइनमार्फत यात्रुभएको ठाउँमा जाने र पछि रिक्वेस्ट क्यान्सिल गरेर बार्गेनिङ गर्ने गरेको गुनासो पनि बढिरहेको छ ।

केही व्यक्तीहरूले पठाओका नाममा बार्गेनिङ गरेर यात्रु उठाउने गरेको बारेमा कम्पनीलाई जानकारी आएको र यो समस्या हल गर्ने विषयमा छलफल भइरहेको पठाओ नेपालकी मार्केटिङ म्यानेजर सुरक्षा हमाल बताउँछिन् ।

‘यसको बारेमा हामीलाई जानकारी छ । यो समस्या हल गर्न काम पनि गर्दैछौँ । छिट्टै यसको हल निकाल्छौँ । अहिले पनि सामाजिक सञ्जालबाट जनचेतना फैलाउने कामचाहिँ गरिरहेका छौँ,’ उनले भनिन् ।

यसरी अफलाइन राइड लिँदा यात्रु र चालक स्वयम्‌लाई पनि असुरक्षा हुने हमाल बताउँछिन् । ‘यसरी अफलाइन यात्रा गर्दा सवारी दुर्घटना भयो भने बीमा दाबी गर्न मिल्दैन । राइडर र प्यासेन्जरलाई नै पनि लुटपाटको सम्भावना हुन्छ,’ उनले भनिन् ।

त्यस्तै, सुरुमा पठाओको एपबाट प्यासेन्जर बोलाएर पछि रिक्वेस्ट क्यान्सिल गरेर बार्गेनिङ गर्नेहरूलाई कम्पनीले सस्पेन्ड गर्ने गरेको उनले जानकारी दिइन् ।

हालसम्म त्यस्तो ठगीको बारेमा कुनै उजुरी नआएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ‘हामी आफैँ गएर कारबाही गर्न कार्यविधि बनेको छैन । ती चालकहरू सम्बन्धित कम्पनीको सिस्टमसँग जोडिएको छ कि छैन त्यो पनि थाहा छैन । यदि कोही ठगिएको उजुरी आयो भने कारबाही हुन्छ,’ उनले शिलापत्रसँग भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *