बागमती प्रदेश सभाः दोस्रो कार्यकालका लागि १९ जना पुरानै अनुहार
थानकोट ।
मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट बागमती प्रदेशसभामा प्रत्यक्ष तर्फबाट १९ जना दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । प्रत्यक्षतर्फ प्रदेशको ६४ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा ४५ जना प्रदेशसभा सदस्यमा नयाँ अनुहारको इन्ट्री भएको छ भने १९ जना संसदहरु प्रदेश सभाको दोस्रो कार्यकालका लागि पुरानै अनुहारले निरन्तरता पाउने भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाम अनुसार काठमाडौंका ७, मकवानपुरका ३, भक्तपुर र काभ्रेका २-२, चितवन, रसुवा, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकका एक/एक क्षेत्रबाट निर्वाचित भएकाहरु दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
चितवन-१ (ख) बाट नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनाल पुनः निर्वाचित भएका हुन् । काठमाडौं-१ (क) बाट कांग्रेसका दिपेन्द्र श्रेष्ठ पनि पुनः निर्वाचित भएका छन् । त्यस्तै भक्तपुर-१ (ख)बाट नेमकिपाका सुरेन्द्रराज गोसाई, भक्तपुर-२ (ख) बाट एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ, रसुवा-१ (क) बाट कांग्रेसका प्रभात तामाङ, नुवाकोट-१ (क) बाट माओवादी केन्द्रकी राधिका तामाङ पनि दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।
त्यस्तै, मकवानपुर-१ (क) बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, मकवानपुर-२ (क) बाट माओवादी केन्द्रकी कुमारी मोक्तान, मकवानपुर-२ (ख) बाट कांग्रेसका ईन्द्रबहादुर बानियाँ, धादिङ-१ (ख) बाट माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, सिन्धुपाल्चोक-२ (क) माओवादी केन्द्रका युवराज दुलाल शरद, काभ्रे-१ (क) बाट माओवादी केन्द्रका रत्नप्रसाद ढकाल पनि दोस्रो कार्यकालका लागि प्रत्यक्ष तर्फबाट निर्वाचित भएका हुन् ।
त्यसै गरी काठमाडौं-३ (क) बाट कांग्रेसका छिरिङ दोर्जे लामा पनि दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । काठमाडौं-७ (क) बाट एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, काठमाडौं-७ (ख)बाट एमालेका प्रकाश श्रेष्ठ, काठमाडौं-९ (ख) बाट एमालेका केशवप्रसाद पोखरेल, काठमाडौं-१० (क) बाट कांग्रेसका पुकार महर्जन, काठमाडौं-१० (ख)बाट एकीकृत समाजवादीकी रमा आले मगर र काभ्रे-२ (क) बाट एकीकृत समाजवादीका लक्ष्मण लम्साल बागमती प्रदेश सभा सदस्यमा पुनः निर्वाचित भएका हुन् ।














