चन्द्रागिरिमा आमा बाबुविहीन बालबालिका संरक्षण कार्यक्रम, मासिक २ हजार सामाजिक सुरक्षा भत्ता
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले आमा बाबुविहिन बालबालिका संरक्षण कार्यक्रम अन्तर्गत नगर क्षेत्रमा स्थायी रूपमा बसोबास गरिराखेका बालबालिकाहरूलाई मासिक रूपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालित कार्यक्रममा चन्द्रागिरि नगरका विभिन्न वडाका गरि हालसम्म १९ जनाले यो सुविधाबाट लाभान्वित भएको बताइएको छ ।
नगरको सामाजिक शाखा प्रमुख रश्मी श्रेष्ठका अनुसार हरेक महिना ती बालबालिकाहरूले २ हजार रूपैयाँ प्राप्त गर्नेछन् । २०७९ श्रावण १ बाट लागु भएको यस कार्यक्रमबाट आमा बाबुविहिन बालबालिकाहरूले लाभ लिन सक्नेछन् ।
जसका लागि ती बालबालिका स्थायी रूपमा बसोबास गरिराखेको वडा कार्यालयको सिफारिस पत्र, विद्यालयमा अध्ययनरत भएको प्रमाणपत्र, संरक्षकको नागरिकता प्रमाणपत्र समावेश गर्नुपर्नेछ । साथै, बालबालिकाको जन्मदर्ता प्रमाण पत्र तथा आमा बाबुको मृत्यु दर्ताको प्रमाणपत्र समेत अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने बताइएको छ ।
१८ वर्ष उमेर पूरा गरेपछि भने ती बालबालिकाले सो सुविधा नपाउने शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । हाल चन्द्रागिरि नगरमा ६ जना बालिका र १३ जना बालकहरूले यो सुविधा लिएका छन् ।












