राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले सुविधा बढाउन सकिँदैन भनेपछि कर्मचारीले माइक बिगारिदिए..

Thankot Times

थानकोट ।

संसद् सचिवालयले १६ औँ संसद् सेवा दिवस मनाइरहेको छ । संसद् सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरूले सबैको ध्यान तानेको छ ।

हिजाे मङ्गलबार संसद् सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको आर्थिक अवस्थामा सुधार नआइ संसद् सचिवालयका लागि बजेट बढाउन नमिल्ने र नागरिककाे आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीले आफ्नो सुबिधा थप गर्न माग गर्न नहुने बताउनुभएको थियो ।

अध्यक्ष तिमिल्सिनाको याे भनाइबाट रुष्ट संसद् सचिवालका कर्मचारीले आज बुधवार संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिए । तोकिएको समयमा कर्मचारी कार्यक्रमस्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले लगाउनुभयो । उहाँले विमोचन गर्ने पुस्तक ढिला ल्याउनु, राष्ट्रिय गान बजाउने बेलामा माइक नै बिगार्नु र प्राविधिक विषयको व्यवस्थापन नभइकन कार्यक्रम सञ्चालन गर्नु सेवा नै नपुगेर हो भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले दिने सेवा र हामीले पाउने सुविधा एकआपसमा अवश्य पनि जोडिन्छ । तर यसको मतलब यो होइन कि कहिलेकाहीँ सुविधा कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा हामी पछि हट्नुपर्छ वा त्यसलाई ढिलासुस्ती गर्नुपर्छ, यो हुन सक्दैन । म हिजोबाट हेरिरहेको छु, विमोचन गर्ने पुस्तक पनि सेवा नभएर यति ढिला आयो । माइक राष्ट्रिय गान बजाउने बेलामा, बोल्ने बेलामा सेवा नै नपुगेर मात्रै हो बिग्रिएको ? हामी हाम्रो दायित्व पटक्कै पूरा गर्दैनाैँ । केही करारमा बाहेक सबै लोक सेवा लडेर आउनुभएको छ । लोक सेवा लड्दा खालि सहसचिव, उपसचिव, अधिकृतको प्रतिस्पर्धामात्रै हेर्नुभयो कि त्यहाँ जाँदा सेवा, सुविधा के हुन्छ भनेर पनि हेर्नुभयो ? सङ्घीय संसदमा आएर भन्सारको डीजी हुन चाहनेहरू पनि देखियो । कसरी तालमेल मिल्छ यो कुरा ? यो सेवामा न्यूनतम सुविधा कटौती भएको छ भने भन्नुहोस् । म घोर आपत्ति व्यक्त गर्दछु । पकेटबाट हामीले कसलाई पुरस्कृत गरेका छौँ ? एक जना देखाउनुस्, राजीनामा दिन्छु । यस्ता वाहियात कुरा बोल्ने, बोल्न मिल्छ ? आफ्नो ड्युटी पूरा गर्ने र सुविधा पनि लिँदै जाने हो । तर यही तालले विमोचन पुस्तकका लागि यहाँ रोकेर राख्ने ? विधेयक समितिबाट एउटा निर्णय पास हुन्छ, टाइप गरेर अर्कै पठाइएको होइन, हाम्रो दोष हो त्यो ? तपाईंहरूले सबै राम्रो गर्नुभएको छ ? आफूले सुधार्नुपर्ने कुरा कतै नबोल्ने, खालि सुविधा चाहिने ? यही सेवाबाट राम्रो गर्छाैँ भनेर लोकसेवा लडेर आउनुभएको छ नि ! कि झुक्याएको छ । लोक सेवाबाट यहाँ आउने बेलामा धेरै चिज आउँछ, भन्सारमा पनि जान पाइन्छ, मुख्य सचिव पनि हुन पाइन्छ भनेर हामीले रोक्यौँ । तपाईंहरूका वृत्ति विकास र सेवाका कुरामा हामी प्रयत्नशील रहनेछौँ । तर त्यसका लागि माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर पाउँछौँ भनेर कहिल्यै नसोच्नुस् ।’

अध्यक्ष तिमिल्सिनाले राजनीतिमा सांसद भएपछि मन्त्री हुनुपर्ने, मन्त्री हुन पाएन भने पार्टी फुटाउने काम गर्नु उचित नहुने भन्दै नागरिकले पुराना पार्टी र नेताहरूलाई यो चुनावमा सुध्रिनका लागि अवसर दिएको समेत बताउनुभयो, उज्यालो अनलाइनमा खबर छ ।

कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले अध्ययन विदाका लागि र क्षमता विकास गर्ने कुरामा सचिवालयले कुनै कर्मचारीलाई नरोकेको बताउनुभयो । उहाँले बढुवाको अनुमोदन गर्ने कुरामा कर्मचारीकै सहजताका लागि आफू बेलुकी ५ बजेसम्म बसेर भए पनि काम गरेको भन्दै साना काममा झमेला झिकेर नबस्न आग्रह गर्नुभयो । उहाँले आफू र व्यवस्थापनलाई प्रशंसा नचाहिएको भन्दै कर्मचारीले आफ्ना जिम्मेवारी र काम पूर्णरूपमा गर्न र संसद्ले गरेका काम कमजोर नदेख्न आग्रह गर्नुभयो । कर्मचारीलाई कार्यक्रम छ भनेर अघिल्लो दिन नै जानकारी दिँदासमेत समयमा उपस्थिति नभएको र प्राविधिक कुरामा भएका गल्तीको जिम्मा आफूले लिने उहाँले बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *