कीर्तिपुर क्रिकेट मैदानबाट सट्टाबाजीको आशंकामा एक पक्राउ
थानकोट ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट प्रहरीले सट्टाबाजीको आंशकामा एक जनालाई पक्राउ गरेको छ।
त्रिभुवन विश्वविद्यालय मैदानमा जारी आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको खेल भइरहेको बेला एक व्यक्तिलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।
उनका अनुसार उनी सट्टाबाजीमा संलग्न भएको आशंका लागेर मैदानबाट नियन्त्रणमा लिएको हो।
‘अहिले उहाँलाई आशंका लागेर नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘अहिले अनुसन्धान गरिरहेका छौं।’
त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।
माइकल लिस्टले संयमित ब्याटिङ गर्दै शानदार शतक बनाएपछि स्कटल्याण्डसँगको खेल जित्न नेपालले २७५ रनको लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । लिस्कको १०७ रनको मद्दतमा स्कटल्याण्डले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७४ रन बनायो ।
सातौं नम्बरमा ब्याटिङ गरेका लिस्कले अन्ति सम्म टिकेर ८५ बल खेल्दै ३ चौका र ९ छक्का मद्दतमा अविजित १०७ रन बनाए ।













