चाैथो थानकोट गोल्डकपः कुर्दनको जितमा अविरलको ह्याट्रिक, विष्णुदेवी पनि दोश्रो चरणमा
थानकोट ।
थानकोट क्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता थानकोट गोल्डकपको चाैथो संस्करणमा कुर्दन एकेडेमी ए र विष्णुदेवी युथ क्लबले विजयी सुरूवात गरेका छन् ।
मंगलबार सम्पन्न खेलमा कुर्दन एकेडेमी ए टिमले चुनदेवी युवा क्लबमाथि ४-० को जित निकाल्यो । सो क्रममा कुर्दनका लागि अविरल रिजालले ह्याट्रिक गर्दा एक गोल रञ्जन श्रेष्ठको नाममा रह्यो । त्यस्तै मंगलबार नै सम्पन्न विष्णुदेवी युथ क्लब र समाज सुधार युथ क्लबबीचको खेलामा विष्णुदेवी ३-२ ले विजय हुँदै अघिल्लो चरण प्रवेश गर्न सफल रह्यो । विष्णुदेवीका लागि इश्वर मगरले २ तथा अमर थापाले १ गोल गरेका थिए । पराजित समाज सुधारका लागि विजय तामाङ र समिर तामाङले समान १-१ गोल गरेका थिए ।
कुर्दनले फाल्गुन १४ गते बुधबार हुने दिपशिखा फुटबल क्लब र ब्लुबेल फुटबल क्लबबीचको विजेतासँग अघिल्लो चरणमा भेट गर्नेछ । त्यस्तै विष्णुदेवीले कुर्दन एकेडेमी बी सँग फाल्गुन ११ गते अघिल्लो चरणमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत भोलि बुधबार पहिलो चरणको अन्तिम खेल दिपशिखा फुटबल क्लब र ब्लुबेल फुटबल क्लबबीच मध्यान्ह १२ बजे हुनेछ । दिउँसो २ बजे दोश्रो चरणको पहिलो खेल थानकोट एफसी र माटिखेल बीच हुनेछ ।














