प्रतिनिधि सभाका रिक्त रहने निर्वाचन क्षेत्रमा वैशाख १० मै उपनिर्वाचन गर्ने आयोगको तयारी
थानकोट ।
प्रतिनिधिसभाका रिक्त क्षेत्रहरूमा आउँदो वैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरिएको छ । निर्वाचन आयोगले रिक्त रहेका स्थानमा वैशाख १० गते नै निर्वाचन गर्ने गरी तयारी थालेको हो । जस अनुसार मुलुक
चितवन क्षेत्र नम्बर-२ मा वैशाख १० गते उपनिर्वाचन हुने तय छ । त्यहाँ निर्वाचन कार्यक्रम समेत अघि बढिसकेको छ । तत्कालीन उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद गुमेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । लामिछाने चितवन-२ बाट निर्वाचित भएका थिए ।
तनहुँ क्षेत्र नम्बर–१ बाट निर्वाचित रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपति बनेका छन् । गएको फागुन २६ गते उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि स्वतः सांसद पद खारेज हुने कानुनी व्यवस्था छ । पौडेलले सांसद पदबाट राजीनामा समेत दिइसकेका छन् ।
आयोगले त्यहाँ पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने तयारी थालेको छ ।
यस्तै, यही चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । उपराष्ट्रपतिका लागि बारा क्षेत्र नम्बर-२ बाट निर्वाचन जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव उमेदवार छन् । सत्ता गठबन्धनको साथ पाएका यादव उपराष्ट्रपतिमा निर्वाचित भए बारा-२ पनि रिक्त हुनेछ ।
उपनिवार्चनका लागि संसद् सचिवालयले पद रिक्त रहेको जानकारी आयोगलाई गराउनुपर्ने हुन्छ । चैत ५-६ गतेसम्म पद रिक्त भएको जानकारी आए वैशाख १० मै उपनिर्वाचन गराउन सकिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् ।
“चैत ५-६ गतेसम्ममा पद रिक्त भएको जानकारी आए आयोग रिक्त स्थानमा वैशाख १० गते नै उपनिर्वाचन गराउन सक्छ,” उनले बाह्रखरीसँग भने, “रिक्त स्थानमा उपनिर्वाचन गर्न सरकारसँग परामर्श गर्छौँ । आयोगले आन्तरिक तयारी गरिरहेको छ ।”













