सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ ५ बजे सार्वजनिक हुने

Thankot Times

थानकोट ।

सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने भएको छ ।

बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरूबीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए ।

उनले साना केही सुझावहरू आज बेलुकी ५ बजेसम्म दल र नेताहरूले दिन सक्ने र ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक  गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘राजनीतिक दलहरूको बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमका बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो । मोटामोटी रूपमा सहमति भएको छ । सानातिना सुझावहरू केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ । लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको विषय र सुशासनका बारेमा मूलभूत रूपमा सहमति भएको छ ।’

महासचिव गुरुङले आजको बैठकमा मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि स्पष्ट पारे ।

सरकारले साँझ ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *