निर्माणाधीन काठमाडौं भ्यु टावरमा वैशाखदेखि पार्किङ खुल्दै
थानकोट ।
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा निर्माणाधीन अवस्थामा रहेको काठमाडौं भ्यु टावरको पार्किङ खुला गर्ने भएको छ ।
१ वैशाखदेखि उक्त टावरको पार्किङ खुला गर्ने योजनाका साथ महानगर अघि बढेको हो । एक सातापछि पार्किङ खोल्ने योजनाअनुसार काम भइरहे पनि पार्किङ क्षेत्रमा माथिल्लो तलाबाट माटो झर्ने समस्या रोकिएको छैन ।
‘भ्यु टावरको पार्किङ वैशाखमा खोल्ने प्लानिङअनुसार काम भइरहेको हो । तर, पार्किङका लागि खोल्न लागेको ठाउँमा माटो झर्ने समस्या छ । यो समस्या समाधान भए १ वैशाखदेखि सञ्चालनमा आउँछ,’ महानगरअन्तर्गत सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रमुख महेश काफ्लेले भने ।
२५ कात्तिक ०७२ मा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनले भ्यु टावरको शिलान्यास गरेका थिए । सोही वर्ष ६ महिनाका लागि यहाँको बसपार्क खुलामञ्चमा सारिएको थियो । भ्यु टावर निर्माणको समय लम्बिँदै जाँदा तत्कालीन महानगर प्रमुख विद्यासुन्दर शाक्यले १६ वैशाख ०७८ बाट खुलामञ्चबाट पार्किङ हटाएका थिए ।
अहिलेसम्म पनि सार्वजनिक यातायातका साधनले सडकमै यात्रु चढाउने र ओराल्ने गरिरहेका छन् नयाँ पत्रिकामा खबर छ ।












