नागढुङ्गामा ट्राफिक प्रहरीको विशेष चेकिङ, लागुपदार्थ सेवन गर्ने आठजना नियन्त्रणमा
थानकोट ।
त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा क्षेत्रमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने ६ जना चालकसहित आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा १८ च ७६३९ नम्बरको पिकअप चालक धादिङका २४ वर्षीय राजेश नेपाली, लु १ ज ४३४० नम्बरको माइक्रोबसका चालक पूर्वी नवलपरासीको त्रिवेणी घर भएका २९ वर्षीय रोशन थापा, बा ९८ प ५१६० नम्बरको मोटरसाइकल चालक धादिङका २५ वर्षीय पुजन सुवेदी, बा ८७ प ९५७ नम्बरको मोटरसाइकलका चालक ललितपुरको लेलेका २२ वर्षीय रिकेस सिलवाल, बागमती प्रदेश०२–०३५ प १५०१ नम्बरको स्कुटर चालक ललितपुरको हरिसिद्धी बस्ने २० वर्षीय सचिन महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै, पोखराबाट काठमाडौंसम्म बा ८८ प ४५६५ नम्बरको स्कुटर आलोपालो चलाउँदै आएका सिन्धुपाल्चोकका २१ वर्षीय आशिष रावत र काभ्रेपलाञ्चोकका २० वर्षीय जिसन राजवंशीलाई लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, भक्तपुरको सूर्यविनायकका २६ वर्षीय विपिन सिल्पकारलाई पनि आजै प्रहरीले चेक गर्दा लागुपदार्थ सेवन गरेको पाएपछि नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आएका आठैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले आज दिउँसो साढे ३ बजेदेखि साँझ साढे ६ बजेसम्म २५ ओटा सवारीसाधन चेकजाँच गर्दा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेका आठजना चालकहरू फेला पारेको थियो ।
फाइल तस्बिर












