सरकारले मेयर बालेनलाई सचेत गराउँदै भन्यो- जिम्मेवारी बोधसहित काम गर्नू
थानकोट ।
सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई जिम्मेवारी बोध गरी काम गर्न सचेत गराएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारी बोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो ।
बैठकमा शीतल निवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर साहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न आग्रह गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको जनाइन् ।
उनले बैठकमा नीतिगत व्यवस्थाअनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको जानकारी दिइन् । उनले बैठकमा आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने विषयलाई मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको पनि जनाइन् ।
‘आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने भन्ने विषय हाम्रो समितिमा गएको थियो, समितिबाट आएर आज मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा गर्नुभएको विषय नीतिगत रुपमा काठमाडौं उपत्यकाका फोहोर स्थानीय तहले उठाउने भन्ने नीतिगत व्यवस्था हो । त्यो नीतिगत व्यवस्था परिवर्तन भएको छैन् ।
त्यसैअनुसार यसलाई व्यवस्थापन गर्न छलफल गर्ने र त्यसो हुँदा पनि नभए नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने भन्ने विषयमा गम्भीर छलफल छ,’ उनले भनिन्, ‘उहाँको अभिव्यक्ति राम्रो छैन भन्ने कुरामा छलफल भएको छ । नीतिगत रुपमा भएको व्यवस्थालाई सबैले पालना गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्ति गरिएको छ ।’
मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्ति गरेको पनि मन्त्री शर्माले जानकारी दिइन् ।













