वर्ष २०७९ मा चन्द्रागिरि नगरपालिका बन्यो घरजग्गा कारोबारको हटस्पट !

Thankot Times

थानकोट । 

कित्ता काटमा कडाइ, तरलता अभाव, चर्को ब्याजदरलगायत कारणले घरजग्गा कारोबार प्रभावित बनेको वर्ष २०७९ मा मुलुकभर घरजग्गा सम्बन्धी ४ लाख ६७ हजार ६४८ वटा कारोबार भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले कमी हो ।

देशैभर घरजग्गा कारोबारमा शिथिलता आएपछि काठमाडौं उपत्यकामा पनि किनबेच शिथिल बन्‍न पुग्यो । 

२०७९ सालमा काठमाडौं उपत्यकाका तीन जिल्लामा रहेका ९ वटा मालपोत कार्यालयबाट ५२ हजार २८३  वटा घरजग्गा किनबेच भएका छन् । 

पछिल्ला वर्षमा उपत्यकाका भित्री शहरमा भन्दा काँठ क्षेत्रमा घरजग्गा किनबेच बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

शहरभित्र बढ्दो महंगीसँगै खाली जग्गा पनि भेटिन छाडेपछि घरजग्गा कारोबारीहरु रिङरोडबाहिर केन्द्रित देखिन्छन् नेपाल होम्समा खबर छ । विभागको तथ्यांकअनुसार ललितपुर, भक्तपुर, कलंकी र साँखु मालपोत कार्यालयबाट सबैभन्दा बढी घरजग्गा किनबेच भएको देखिन्छ ।

रत्नपार्कबाट करीव १५/२० किलोमिटर दुरीमा रहेको थानकोट, नागढुंगा, दहचोक, मातातिर्थ, कीर्तिपुर र दक्षिणकाली क्षेत्रमा पनि घरजग्गा किनबेच उछालिएको छ । काठमाडौं छिर्ने प्रवेशद्धार थानकोटमा घरजग्गा किनबेच तिब्र भइरहेको व्यवसायी बताउँछन् ।

कलंकी मालपोत कार्यालय उपत्यकामा सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने मध्येमा पर्छ । गत वर्ष कलंकी मालपोतबाट मात्रै ९ हजार ९२ घरजग्गा किनबेच भएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ६, ललितपुरमा २ र भक्तपुरमा १ मालपोत छन् । यो हिसाबले हेर्दा कलंकी, थानकोट, कीर्तिपुर, दक्षिणकाली क्षेत्र उपत्यकाभित्र सबैभन्दा धेरै घरजग्गा किनबेच हुने क्षेत्रमा पर्छ ।

पश्चिम क्षेत्रबाट काठमाडौं आएर यहीँ भविष्य खोजिरहेका मानिसहरुको रोजाईमा कीर्तिपुर, थानकोट, दहचोक लगायत ठाउँहरु पर्छन । शहरभित्र जग्गाको मूल्य चर्किएपछि मध्यमबर्गको रोजाई ती ठाउँमा पुगेको हो । जग्गाको कारोबार बढ्दै गएपछि अहिले थानकोटमै प्रतिआना २०/३० लाखभन्दा कम मूल्यमा जग्गा पाउन मुस्किल भइसकेको छ ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ