नेपालको पानी विदेशमा, विदेशको पानी नेपालमाः नौ महिनामा ५९ लाख लिटर निर्यात, ५९ हजार लिटर आयात
थानकोट ।
नेपालले चालु आर्थिक वर्षको ९ महिनामा ५९ लाख ५० हजार ८ सय ८३ लिटर खानेपानी विदेश निर्यात गरेको छ ।
खानेपानी निर्यातको प्रचुर सम्भावना भएको नेपालले चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म उक्त पानी निर्यात गरेर ३७ करोड ५२ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले यस अवधिमा जर्मनी, भुटान, भारत, जापानलगायतका देशहरुमा पानी निर्यात गरेको हो ।
यतिमात्रै होईन नेपालबाट यस अवधिमा अष्ट्रेलियासम्म पानी पुर्याएको छ ।
हुन त पछिल्लो समय विश्वबजारमै स्वच्छ खानेपानीको माग बढ्दो छ ।
नेपालका नदीनालाहरुमा अविरल बगिरहने प्राकृतिक पानी निर्यात गरेर अथाह आम्दानी गर्न सकिने सम्भावना रहेको बहस डेढ दशक अघिदेखि नै हुँदै आएको छ ।
तर, यस क्षेत्रका सरोकारवालाहरुले खासै चासो नदिँदा र सरकारले पनि उचित व्यवस्था नगरिदिँदा नेपालको पानी विभिन्न देशमा पुग्न नसकेको निर्यातकर्ताहरु बताउँछन् ।
नेपालको गुणस्तर तथा नापतौल विभागले सोमबार मात्रै नेपालको पानी विदेश निर्यात गर्न सहजीकरण हुनेगरी पानीको गुणस्तर मापदण्ड पारित गरेको छ ।
यसले पनि नेपालको पानी निर्यातलाई केहि सहजीकरण हुने देखिन्छ ।
नेपालले पानी निर्यात मात्रै होईन आयात पनि गर्नेगरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पछिल्लो ९ महिनामा नेपालले ७९ लाख ३७ हजार रुपैयाँ बराबरको ५९ हजार ३ सय ९९ लिटर खानेपानी आयात गरेको छ ।
यसमार्फत नेपालले ४६ लाख १७ हजार रुपैयाँ बढी राजस्व उठाएको विभागको तथ्यांकमा उल्लेख छ ।














