गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

Thankot Times

थानकोट ।

बिहीबार गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिँदैछन् ।

अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गरेका थिए ।

यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र नेकपा एकीकृत समाजवादी एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उनी गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री बनेका थिए ।

हाल मुख्यमन्त्रीसहित दुई बिनाविभागीय मन्त्री मात्र रहेको मन्त्रिपरिषद्लाई विश्वासको मत लिएपछि पूर्णता दिने तयारीमा मुख्यमन्त्री पाण्डे छन् ।

नियुक्त भएको भोलिपल्ट मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रूपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *