मातातीर्थको जग्गा घोटला प्रकरण छानबिन गर्न एमाले सांसद गिरीको माग (भिडियो सहित)
थानकोट ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मातातीर्थको जग्गा घोटला प्रकरण छानबिन गर्न माग गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको वर्षे अधिवेशनको पहिलो बैठक सुरु हुँदानहुँदै नेकपा एमालेका सांसद गिरीले सभामुखसँग बोल्न समय माग्दै सो बताएका हुन् ।
‘फिल्म हेर्न आतुर छौं, टिकट काटेर बसेका छौं । वाइडबडीको छानबिन गरौं, बाँसबारीको छानबिन गरौं, मातातीर्थ जग्गा घोटला काण्डको छानबिन गरौं । यती, ओम्नी र लडाकू शिविर काण्डको पनि छानबिन गरौं’ प्रमुख सचेतक गिरीले चुनौतीको भाषामा भने ।
गत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भ्रष्टाचारीको फाइल खोल्नेकाम सुरु भइसकेको भन्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धान ट्रेलर मात्रै भएको टिप्पणी गरेका थिए ।
‘यो ट्रेलर मात्रै हो । यो सिंगो फिलिम देखिन्छ । सिंगै फिलिम देखिनेवाला छ’ प्रचण्डले भनेका थिए ।
के हो मातातीर्थको १७३ रोपनी जग्गा प्रकरण ?
मालपोत कार्यालय, कलंकीले ७ असार २०७० मा नेपाल ट्रस्ट जग्गाधनी रहेको काठमाडौंको मातातीर्थ, महादेवस्थान, थानकोट, सतुंंगल र इचंगुनारायणको जग्गा व्यक्ति (मोही) का नाममा कायम गरेको देखिन्छ ।
त्यसमध्ये सबैभन्दा बढी जग्गा साविक थानकोट र महादेवस्थान गाविसमा १०२ रोपनी ३ आना जग्गा मोहीका नाममा कायम भएको थियो ।
त्यतिबेला नेपाल ट्रस्टको कार्यालय, बाागमती अञ्चल, काठमाडौंका नाममा रहेका विभिन्न ७८ कित्ता जग्गा व्यक्तिको नाममा दर्ता भएको थियो ।
नेपाल ट्रस्ट ऐन, २०६४ अनुसार ट्रस्टको नाममा रहेको जग्गामा स्वतः ट्रस्टको हक कायम हुन्छ ।
‘यो ऐन प्रारम्भ हुँदाका बखत स्वदेश तथा विदेश जहाँ जे-जस्तो अवस्थामा जुनसुकै व्यक्ति वा संस्थाको नाममा रहेको भएता पनि यो ऐन प्रारम्भ भएपछि त्यस्तो सम्पत्ति स्वतः ट्रस्टका नाममा हस्तान्तरण भएको वा त्यस्तो सम्पत्तिमा स्वतः ट्रस्टको हक कायम भएको मानिनेछ’ ऐनको दफा ४ मा भनिएको छ, ‘…ट्रस्टको सम्पत्तिउपर कुनै व्यक्ति वा संस्थाको कुनै प्रकारको हक वा दाबी पुग्ने छैन र त्यस्तो सम्पत्तिमा अंश वा अपुतालीसम्बन्धी कानूनबमोजिम कसैको हक वा दाबी सिर्जना हुनेछैन ।’









