चोटका कारण भलिबल स्टार प्रतिभाले ८ देश सम्मिलित काभा महिला च्यालेन्ज कप गुमाउने
थानकोट ।
नेपाली महिला भलिबल स्टार प्रतिभा मालीले आगामी जेठ दोस्रो साता काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कप गुमाउने भएकी छिन् ।
नेपाल भलिबल संघले मंगलबार १४ सदस्यीय अन्तिम टोली घोषणा गर्दा यसअघि नियमित सदस्य रहेकी प्रतिभा माली टिमबाट बाहिरिएकी छन् । उनको घुँडाको चोट बल्झिएपछि स्पाइकर टिममा नराखिएको प्रशिक्षक जगदिश भट्टले जानकारी दिए ।
प्रतियोगितासम्म फिट नहुने भएकोले टिममा नराखिएको उनले बताए । अब नेपाली टोलीको मुख्य स्पाइकरमा सरस्वती चौधरी रहनेछन् भने उनलाई उषा भण्डारीले साथ दिनेछन् ।
नेपाली टोलीमा अरुणा शाही (कप्तान/सेटर), सरस्वती चौधरी (स्पाइकर), निरुता ठगुन्ना (स्पाइकर), रिमा कुँवर (स्पाइकर), उषा भण्डारी (स्पाइकर), कामना विष्ट (स्पाइकर), पुनम चन्द (स्पाइकर), पुजा चौधरी (स्पाइकर), कविता भट्ट (मिडल ब्लकर), साफिया पुन (मिडल ब्लकर), संगम महतो (मिडल ब्लकर), प्रगति नाथ (सेटर), सलिना श्रेष्ठ (लिवेरो), र शन्तिकला तामाङ (लिवेरो) का रूपमा खेल्नेछन् । जेठ ८ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने काभा महिला च्यालेन्ज कप ८ राष्ट्रको सहभागिता रहनेछ ।
समूह एमा घरेलु टोली नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान छन् भने समूह बी मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।













