टि-२० विश्वकप-२०२४ः एसिया छनोट नेपालमा हुने

Thankot Times

थानकोट ।

अर्को वर्षको जुन महिनामा अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने टी–२० विश्वकपको एसिया छनोट प्रतियोगिता नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।

नेपालले नोभेम्बरमा एसिया क्षेत्र छनोटको खेल आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको छ । यसअघि पूर्वाधारका कारण नेपालले ठूला प्रतियोगिता आयोजना गर्न पाएको थिएन ।

छनोट खेल कीर्तिपुर र मुलपानी मैदानमा हुनेछ ।

एसिया छनोटमा नेपालसहित, युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई देश छनोट चरण पार गरेर आउनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउने छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *