नागढुङ्गामा समातिने डरले गल्छीबाट नुवाकोट हुँदै काठमाडाैं छिरेका थिए एमाले सचिव रायमाझी

Thankot Times

थानकोट । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई आज अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको  छ । 

रायमाझी आइतबार बुढानीलकण्ठस्थित पासिकोटबाट पक्राउ परेका थिए । प्रहरीका अनुसार रायमाझीलाई आफन्त नारायण पौडेलको घरबाट नियन्त्रणमा लिइएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी जारी भएको समयमा गृहजिल्ला अर्घाखाँचीस्थित एक विद्यालयको कार्यक्रममा सहभागी भएका उनी काठमाडौं आउने जनाए पनि फरार भएका थिए ।

फरार भएका रायमाझी पोखरामा लुकेर बसेको खुलेको छ । प्रहरीले रायमाझी पोखरामा लुकेर बसेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली खटाएको थियो । उक्त टोली शनिबार पोखरा गएको थियो । तर, रायमाझीलाई पक्राउ गर्न सकेन ।

आफूलाई पक्राउ गर्न काठमाडौंबाट प्रहरी टोली पोखरा आएको सूचना पाएपछि रायमाझी पोखराबाट शनिबार काठमाडौं आएका थिए । रायमाझी पक्राउ परिने डरले थानकोट हुँदै नआएर गल्छीबाट नुवाकोटतर्फ गएका थिए । नुवाकोट हुँदै स्थलमार्गबाट उनी बूढानीलकण्ठस्थित पासिकोटमा बसेका थिए ।

उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरुले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *