बागमती प्रदेशमा क्याबिनेटले पूर्णता नपाएपछि एकै मन्त्रीलाई ४ मन्त्रालयको जिम्मा
थानकोट ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एउटै मन्त्रीलाई ४ वटा मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन्।
मन्त्रालयमा मन्त्री नहुँदा बजेट निर्माणमा कठिनाइ भएको कर्मचारीको गुनासोपछि मुख्यमन्त्री जम्मकट्टेलले आफूले राखेका ५ मध्ये ३ वटा मन्त्रालय कांग्रेसको भागमा दिएका हुन्।
आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माणको चटारोमा रहेको बागमती सरकारमा अहिले ५ वटा मन्त्रालय रिक्त छन्।
५२ दिनदेखि अपूर्ण रहेको क्याबिनेटलाई पूर्णता दिनुभन्दा पनि एकै मन्त्रीलाई चारवटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले दिएका हुन्।
बजेट निर्माणमा असहज हुने देखिएपछि रिक्त मन्त्रालयमा एकै मन्त्रीलाई चार मन्त्रालयको जिम्मेवारी दिइएको हो।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामालाई अब अर्थ मन्त्रालय सहित प्रदेशको स्वास्थ्य मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको समेत जिम्मेवारी थपिएको छ।
अर्थ मन्त्रालयसहित अब लामाको काँधमा ४ मन्त्रालयको जिम्मेवारी थपिएको हो।
११ सदस्यीय बागमती मन्त्रिपरिषद्मा हाल मुख्यमन्त्री सहित माओवादी केन्द्रका ४ र कांग्रेसका २ मन्त्री छन्।
बाँकी ५ मन्त्रालयमा कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त हुने बताइएको छ।













