राप्रपाले अबदेखि आधा उम्मेदवार ‘प्राइमरी इलेक्सन’ बाट छान्ने
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अबदेखि ‘प्राइमरी इलेक्सन’बाट उम्मेदवार छान्ने निर्णय गरेको छ।
प्रदेश र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार चयन गर्दा प्राइमरी इलेक्सन गर्ने निर्णय केन्द्रीय समितिले गरेको हो।
‘प्रारम्भिक रूपमा प्रादेशिक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ५० प्रतिशत उम्मेदवार प्राइमरी निर्वाचन प्रणालीबाट चयन गरिनेछ,’ केन्द्रीय समिति बैठकपछि प्रवक्ता सगुनसुन्दर लावतीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राप्रपाले हरेक समिति र तहहरूमा महिलालाई कम्तिमा ३३ प्रतिशत र ४० वर्ष उमेरमुनिका युवाका लागि निश्चित संख्यामा प्रतिनिधित्व सुनिश्चित गर्नेसमेत निर्णय गरेको छ।
राप्रपाले ५ वर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्याउने लक्ष्यसमेत लिएको छ।
‘राप्रपालाई अब ‘नवीन राप्रपा’ को अवधारणाअनुसार युवा र महिला केन्द्रित नयाँ सोच र शैली अनुशरण गर्दै आम नागरिकमा आशा, भरोसा र विश्वास जगाउँदै ५ वर्षभित्र राप्रपालाई देशको नेतृत्वमा पुर्याउने लक्ष्य लिइएको छ,’ केन्द्रीय समितिको निर्णयमा उल्लेख छ।
साथै राप्रपाले भुटानी शरणार्थी प्रकरणका दोषीमाथि कारबाही गर्न माग गरेको छ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानूनबमोजिम आकर्षित हुने राज्यविरूद्धको अपराध, ठगी, संगठित अपराध, सरकारी दस्तखत कीर्तेलगायत कसुरमा कारबाही चलाउन राप्रपा माग गर्दछ,’ निर्णयमा भनिएको छ।
साथै राप्रपाले २०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नसमेत माग गरेको छ। छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र नागरिक आयोगसमेत बनाउन माग गरेको छ।
यस्तो छ निर्णय:














