विश्वकप क्रिकेट छनोट: नेपाल समूह ‘ए’ मा, पहिलो खेल जिम्बावेविरुद्ध खेल्ने
थानकोट ।
आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटको खेल तालिका सार्वजनिक भएको छ । आइसीसीले मंगलवार खेलतालिका प्रकाशन गरेको हो । खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन १८ जुन अर्थात् असार ३ मा हुनेछ ।
छनोट प्रतियोगिता आगामी जुन-जुलाईमा जिम्बावेमा हुँदैछ । प्रतियोगितामा दश राष्ट्रको सहभागिता रहेको छ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
नेपाल वेष्टइण्डिज र जिम्बावे रहेको समूहमा परेको छ । आईसीसीले गरेको ड्र अनुसार नेपाल, वेष्टइण्डिज, जिम्बावे, नेदरल्याण्ड्स र अमेरिका ‘समूह ए’मा परेका हुन् ।
समूह बी मा भने श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् ।
लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
सुपर सिक्समा पर्ने टिमले एक अर्काविरुद्ध खेलेपछि शीर्ष २ टिम छनोट प्रतियोगिताको फाइनलमा पुग्दै आउँदो वर्ष भारतमा हुने विश्वकपमा छनोट हुने छन् ।
उद्घाटनको दिन दुई खेल रहेको छ । उद्घाटन खेलमा आयोजक जिम्बावे र नेपालबीच खेल हुनेछ ।
नेपालले दोस्रो खेलमा २० जुन / असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन / असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा सँग २४ जुन / असार ९ मा खेल्नेछ ।
जिम्बावेविरुद्ध १८ जुन / असार ३ मा हुने खेल टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल पनि हुनेछ ।














