काभा वुमन्स् भलिबल च्यालेन्ज कप: आज नेपाल र भारतबीच खेल हुँदै
थानकोट ।
काभा महिला भलिबल च्यालेन्ज कपमा आज घरेलु टोली नेपाल र बलियो प्रतिद्वन्द्वी भारत आमुने-सामने हुँदैछन् ।
यो खेल दिउँसो ३ बजे राष्ट्रिय खेलकुद परिषदको कबर्डहलमा सुरु हुनेछ ।
दुवै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
समूह ‘ए’ अन्तर्गत हुने यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । नेपाल अपराजित हुँदै समुह विजेताका रुपमा सेमिफाइलनमा प्रवेश गर्न चाहन्छ ।
नेपालले यसअघि तुलनात्मक रुपमा कमर कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो ।
यी दुवै टिमविरुद्ध नेपालले एक सेट पनि गुमाएन ।
प्रशिक्षक जान दि ब्रान्टले भारतविरुद्धको खेल मात्रै नभइ सबै खेल महत्वपूर्ण भएको बताएका छन् ।
भारत र नेपाल कबर्ड हलमा पछिल्लो पटक सन् २०१९ मा १३ औँ दक्षिण एसियाली खेलकुदमा आमुनेसामुने भएका थिए ।
प्रतियोगिताबाट बाहिरिसकेका कीर्गिस्तान र बंगलादेश भने आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सुखद अन्त्य गर्न चाहन्छन् ।
यो खेल बिहान १० बजे सुरु हुनेछ ।
यस्तै दिउँसो साढे १२ बजे समूह ‘बी’ मा रहेका उज्वेकिस्तान र काजखस्तान भिड्दैछन् । श्रीलंका र माल्दिभ्स साँझ साढे ६ बजे आमनेसामने हुनेछन् ।













