नेवार समुदायले सिथी नख: पर्व मनाउँदै

Thankot Times

थानकोट । 

 नेवार समुदायले आज सिथी नख: पर्व मनाउँदैछन् । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीका दिन यो पर्व मनाउने गरिन्छ।

यो पर्व बर्षायाम र धानको रोपाइँ सुरु हुनुभन्दा पहिले मनाइन्छ। काठमाडौं उपत्यकामा आजको दिन पानीको मूल सफा गर्ने पर्वका रुपमा मनाउँदै आइएको छ।

नेवार समुदायले इनार , पोखरी , ढुङ्गेधारा लगायतका पानीको स्रोत सफा गर्ने गर्छन्। परापूर्वकालदेखि चलिआएको परम्पराले अहिले पनि निरन्तरता पाएको हो ।

वर्षात्‌को बेला बगेर आउने भेल र फोहोरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो । साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्‌को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरेको हो ।

सिथी नख: कै दिन भगवान कुमारको जन्मदिन पनि भएकाले नेवार समुदायले कुमारको पूजा गरी मास, मुगी, केराउ लगायतको दालको बारा बनाएर खाने प्रचलन छ।

त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।

नेवार समुदायमा ऋतुअनुसारको चाडपर्वअनुसारका पकवान खाने प्रचलन छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *