बलम्बुका सशस्त्र प्रहरीले टाैदहमा डुबेका मानिसको यसरी गरे उद्दार !
थानकोट ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु, काठमाडौंको आयोजनामा काठमाडौंको किर्तिपुर नगरपालिका ६ स्थित टौदहमा शुक्रबार विपद् प्रतिकार्य कृतिम अभ्यास सम्पन्न भएको छ ।
मनसुनको सुरुवातसंगै बाढी, पहिरो, डुबान एवं विपद्का अनेक घटनाहरुमा चुस्तदुरुस्त रुपमा परिचालन हुनको निमित्त पूर्वतयारी स्वरुप विपद् प्रतिकार्य कृतिम अभ्यास संचालन गरिएको बाहिनीपति डिआइजी पुरुषोत्तम थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यमा सम्पन्न अभ्यासमा उपलब्ध खोज तथा उद्धारका श्रोतसाधनको अधिकतम प्रयोग गरी जिल्ला एवं प्रदेशस्थित विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकाय तथा अन्य सुरक्षा निकायहरुलाई सहभागी गराइएको थियो ।
बाहिनीस्तरिय कृतिम अभ्यास सशस्त्र प्रहरी बल, नेपाल नं. १८ निलबराही गण बलम्बु र नं. २० विपद् उद्धार गण सिनामंगलको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा अतिरिक्त महानिरीक्षक गौतमले कुनै पनि विपद्को अवस्थामा उद्धारकर्ताले सामना गर्नुपर्ने परिदृष्यको वास्तविकताको झल्को दिने कृतिम अभ्यासले विपद् प्रतिकार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सशस्त्र प्रहरी बल, नेपाललाई राज्य प्रदत्त विभिन्न कार्यादेश मध्ये विपद् व्यवस्थापन एउटा महत्वपूर्ण कार्यादेश भएको उल्लेख गर्दै उनले यस प्रकारका कार्यादेश सम्पन्न गर्न सीप तथा क्षमतायुक्त दक्ष जनशक्ति आवश्यक रहेको बताए ।
किर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले सशस्त्र प्रहरी बल, नेपालले प्रर्दशन गरेको पूर्वतयारीको कृतिम अभ्यासले विपद् प्रतिकार्यमा परिचालन हुँदा विपदबाट हुने क्षतिलाई न्यूनिकरण गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।











