यस्तो छ कलाकार दिपकराज गिरीले दहचोकमा बनाउन चाहेको ‘झिंगटी घर’ सम्पदा बस्ती
थानकोट ।
स्थानीयको स्वामित्व रहने गरी जन्मथलो चन्द्रागिरि नगरपालिका-१ दहचोकमा सुरू गर्न चाहेको ‘झिंगटी घर प्रोजेक्ट’ को सन्दर्भमा छलफल गर्न कलाकार दिपकराज गिरीले चन्द्रागिरि नगरपालिकाका मेयर तथा उपमेयरसँग भेट गरेका छन् ।
मंगलबार नगरपालिकामा आयोजित छलफल कार्यक्रममा कलाकार गिरीले आफुले कल्पना गरेको ‘झिंगटी घर’ सम्पदा बस्तीका विषयमा जानकारी गराएका हुन् ।
भेटका क्रममा कलाकार गिरीले नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ लगायत विभिन्न वडाका वडाध्यक्षहरू, नगरका प्रमुख प्रशासकीय अधिकृत लगायतलाई सो सम्पदा बस्तीका काल्पनिक भिडियो समेत देखाएका थिए । सो क्रममा कलाकार गिरीले दहचोकमा बन्न लागेको सम्पदा वस्तीका लागि निर्माण कार्यविधिको व्यवस्थाका लागि नगरप्रमुख समक्ष अनुरोध गरेका छन् ।
उनले सो बस्ती निर्माणपछि दहचोक इन्द्रस्थानस्थित कालु पाँडेको समाधीस्थलसम्म हाइकिङ मार्ग निर्माणको योजना रहेको बताए । सो निर्माण सम्पन्न भएपछि सो दहचोक क्षेत्रमा पर्यटकीय गतिविधिमा वृद्धि हुने तथा चलचित्र छायांकन लगायतका कार्य समेत बाक्लिने अपेक्षा लिएको कलाकार गिरीले बताए ।
‘झिंगटी घर’ सम्पदा बस्ती अभियानको प्रारम्भिक जानकारी लिएपछि नगरप्रमुख घनश्याम गिरीले नगरले सो सन्दर्भमा आवश्यक सहजीकरणका प्रयास गर्ने धारणा राखेको बताइएको छ ।
दिपकराज गिरीले सो बस्ती निर्माणका लागि यसअघि भक्तपुर नगरका नगरप्रमुख सुनिल प्रजापतिसँग समेत भेट गरी सम्पदा शैलीको नमुना घर बनाउँदा कसरी कार्यविधि र शैलीमा काम गर्न सकिन्छ भन्ने सन्दर्भमा भेट गरिसकेका छन् ।
दहचोकस्थित आफू जन्मिएको गाउँमा मौलिक कलाशैली झल्किने ३० वटा घर निर्माण गर्दै दिपकराज गिरी
माथि प्रस्तुत गरिएका तस्बिर ‘झिंगटी घर’ सम्पदा बस्तीका काल्पनिक स्वरूप हुन, यसमा केही फेर बदल हुन सक्ने बताइएको छ। स्रोतः शिवराज गिरी













