बजेट वक्तव्यः चन्द्रागिरि नगरमा खुला क्षेत्र, हरियाली पार्क र व्यवस्थित पूर्वाधारसहित आवासीय क्षेत्र

Thankot Times

थानकोट ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसद् मा आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा सरकारले बागमती र विष्णुमतीलगायत उपत्यकाका नदी-किनारामा रहेका अनधिकृत बस्ती हटाउने विषय समेत राखेका छन् । 

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुमबासीको पहिचान र उनीहरूको वासस्थानका लागि वैकल्पिक व्यवस्थापन गरी नदी–किनारामा रहेका अनधिकृत बसोवास हटाउने बताएका हुन् । सरकाको निर्णयसँगै काठमाडौं महानगरका मेयर बालेन्द्र साहको नदी–किनारामा रहेको अनधिकृत बस्ती हटाउने अभियानलाई साथ पुगेको छ । नदी–किनारमा रहेका अनधिकृत बस्ती हटाउन मेयर साहले पटक–पटक प्रयास गरे पनि सफल हुन सकेका थिएनन् । यो विषयमा केन्द्र सरकारले सहयोग नगरेको मेयर साहले आरोप लगाउँदै आएका थिए । 

सो बजेट वक्तव्यमा उल्लेख भएअनुसार सरकारले काठमाडाैं उपत्यकाको सहरी विकासका लागि बृहत् गुरुयोजना तयार गर्ने भएको छ । उपत्यकाभित्र व्यवस्थित सहरीकरणका लागि ललितपुरको गोदावरी तथा सुनाकोठी, काठमाडौंको तारकेश्वर तथा इचंगुनारायण र चन्द्रागिरि नगरपालिकामा खुला क्षेत्र, हरियाली पार्क र व्यवस्थित पूर्वाधारसहितका आवासीय क्षेत्र विकास गर्ने उल्लेख भएको छ। 

तस्बिरः चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थस्थित निर्माणाधीन पार्क । 

स्रोतः वडाध्यक्ष सञ्जय सिग्देलको फेसबुक 


Leave a Reply

Your email address will not be published. Required fields are marked *