१० महिनाको फरकमा दुई छोरीको अकालमा मृत्यु, गुरुङ दम्पत्ती शोकमा
थानकोट ।
घरको तीन तलामाथिबाट खसेर साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाकी सात वर्षीया बालिका रोशनी गुरुङको ज्यान गएको छ । स्कूलबाट आएर खाजा खाएपछि खेल्नेक्रममा दिक्तेलस्थित किराँत नजिकैको भाडाको घरबाट खसेकी रोशनीको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।
दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलको कक्षा–२ मा अध्ययनरत रोशनी अपरान्ह चार बजेतिर तीन तलामाथिबाट लडेको स्थानीयले बताएका छन् । पक्की घरको तीन तलामाथिबाट लडेर झरेलगत्तै उद्धार गरेर दिक्तेलस्थित फेमिली केयर अस्पताल पुर्याइएकी रोशनीको उपचारको क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
लडेर ज्यान गुमाएकी रोशनीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पुर्याइएको सामुदायिक प्रहरी सेवा केन्द्र रत्नपार्कका प्रमुख प्रहरी नायब निरीक्षक गोपी कटवालले बताए । ‘स्कूलबाट आएर खाजा खाएपछि साथीसँग खेल्नेक्रममा लडेर झरेको रहेछ, गम्भीर घाइते बनेकी रोशनीको उपचार गर्दागर्दै करिब डेढ घण्टापछि मृत्यु भयो’, उनले भने, ‘फेमिली केयर अस्पतालले मृत घोषणा गरेपछि उनको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पुर्याइएको छ ।’
मृतक रोशनीको शव परीक्षणपछि सर्जमिन मुचुल्का गरेर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । मृतक रोशनी रविन गुरुङ र सिर्जना राई (गुरुङ)को कान्छी छोरी हुन् नयाँ पत्रिकामा खबर छ।
बुबा रविन जिल्लामै भाडाको सुमो गाडी चलाउँदै आएका छन् भने, आमा सिर्जना कोठा भाडामा लिएर छोराछोरी पढाउँदै दिक्तेलमै बस्दै आएकी छिन् । प्रेम विवाह गरेका रविन र सिर्जनाको तीन सन्तान (दुई छोरी र एक छोरा) जन्मिएका थिए ।
ठूली छोरी रोमीको गत साउन–१३ गते शुक्रबार भाडाकै घरको निदाल (घरका दलिन अड्याउन राखिने काठ)मा सल बाँधेर पिङ खेल्नेक्रममा सोही सलमा झुन्डिएर मृत्यु भएको थियो । कोठामा बुबाआमा नभएको समयमा भाइ/बहिनीसँग खेल्नेक्रममा रोमीको घाँटीमा सलकाे पाँसो लागेर मृत्यु भएको थियो ।
नौँ वर्षीया छोरी रोमीको झुन्डिएर र कान्छी रोशनीको लडेर मृत्यु भएपछि गुरुङ दम्पत्ती शोकमा डुबेका छन् । वर्ष दिन नपुग्दै दुई छोरीको एकपछि अर्को हुँदै दुर्घटनामा परी मृत्यु भएपछि उनीहरु अहिले शोकमा डुबेका छन् ।











