एसीसी महिला इमर्जिङ टिम्स एसिया कपः वर्षा बाधक हुँदा नेपाल समुह चरणबाटै घर फर्कियो
थानकोट ।
नेपाल एसीसी महिला इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । वर्षा बाधक बन्दा समूह चरणका दुई खेल स्थगित हुनु नेपालका लागि दुर्भाग्य बन्यो ।
हकङको मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार आज बिहान ६ : ४५ मा घरेलु टोलीसँग हुने भनिएको खेल वर्षाका कारण टस नभइ रद्द भयो। यसअघि भारत ‘ए’ सँगको खेलमा पनि वर्षा बाधक बनेपछि अन्तिम खेलमा जित्नै पर्ने दबाब नेपाल रहेको थियो । तर आजको खेल पनि हुन नसकेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपालले समूह चरणको एक खेल मात्रै खेल्यो ।
नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ रनको पराजय व्यहोरेको थियो ।
नेपाल आगामी भदौ ११ देखि २० गतेसम्म मलेसियामा हुने महिला टी–ट्वान्टी विश्वकपको छनोटको तयारी गरिरहेको छ ।
इमर्जिङ कप तयारीका लागि राम्रो अवसर भएपनि एक खेल खेलेर नेपाल स्वदेश फर्किँदैछ ।
थाइल्यान्डले अन्तिम समयमा भिसाको कारण हङकङ भ्रमण स्थगित गरेपछि नेपालले प्रतियोगितामा सहभागिताको मौका पाएको थियो ।













