खोलामा फोहोर फालेको भन्दै ललितपुर महानगरले तिरायो ५० हजार रूपैयाँ जरिवाना

Thankot Times

थानकोट ।

काठमाडौँका विभिन्न स्थानबाट सेफ्टी ट्यांकी सफा गरेर ल्याएको दिशा ललितपुरको खोलामा मिसाएको भन्दै ललितपुर महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गराएको छ । सेफ्टी ट्यांकी सफा गरेर ल्याएको दिशा ललितपुरको क्षेत्रमा पर्ने खोलामा मिसाएको भेटेपछि महानगरले ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।
गत जेठ २५ गते ललितपुर महानगरले धोबिखोला क्षेत्रमा रहेको करिडोरबाट खोलामा दिशा पिसाबसहितको फोहोर फाल्दै गरेको अवस्थामा दुईवटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रति सवारीसाधन ५० हजार जरिवाना तिराएको ललितपुर महानगरका सुरक्षा प्रमुख सीताराम हाछेथुले बताए ।

काठमाडौँका विभिन्न क्षेत्रबाट सेफ्टी ट्यांकी सफा गरेर ल्याएको दिशा तथा पिशाब ललितपुरको च्यासलमा नेकपा एमालेको कार्यालय नजिकैको क्षेत्रमा १२ फिट लामो जस्ताले घेरेर राखिएको स्थान भित्रबाट धोबीखोला फाल्ने गरेको पाइएको थियो । अनुगमनका क्रममा महानगर प्रहरीले बा ३ ख २८० र बा३ख ९४०३ नम्बरको गाडी नियन्त्रणमा लिएको थियो ।

त्यसपछि कारवाहीको प्रक्रिया अगाडि बढाएको महानगरले आइतबार प्रति सवारीसाधन ५० हजार रुपैयाँका जरिवाना तिराएर फेरि फोहोर नफाल्ने शर्तमा छाडेको हो ।  हाछेथुले भने, ‘केही समयअगाडि फोहोर फाल्दै गर्दा गन्हाएपछि हामी त्यहाँ पुगेका थियौँ । हामी पुग्नासाथ चालक गोपी श्रेष्ठ त्यहाँबाट भागे । गाडी नियन्त्रणमा लिएका थियौँ । त्यसबारे अनुसन्धान गर्दा दैनिक २० पटक त्यहाँ फोहोर फाल्ने गरेको पाइएको थियो । त्यहाँ फोहोर फाल्दा एउटा ट्याङ्करलाई प्रतिटिप ५ सय रुपैयाँ दिने गरिएको रहेछ । त्यसपछि हामीले ट्याङ्करका धनी  काजीमान कुसवाल र ठेकेदार दुर्गे तामाङलाई नियन्त्रण लिएका थियौँ । पछि अर्को गाडी पनि नियन्त्रणमा लिएका थियौँ । अहिले उनीहरुलाई कारबाही गरिएको हो ।’

ललितपुर महानगरपालिकाले महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन, २०७५ को दफा २४ को उपदफा ६ बमोजिम ती सवारी साधनलाई जनही ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।

रातोपाटीबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *