मातातीर्थ-फाखेल-कुलेखानी सडक आयोजनाका लागि ५ करोड विनियोजन
थानकोट ।
काठमाडाैं र हेटाैंडा जोड्ने सबैभन्दा छोटो सडक मार्ग मातातीर्थ-फाखेल-कुलेखानी सडक खण्ड स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ५ करोड बजेट विनियोजन गरेको छ।
प्रदेशको पूर्वाधार विकास कार्यालयले सो बजेट विनियोजन गरेको हो ।
संघीय राजधानी काठमाडाैं र बागमती प्रदेशको राजधानी हेटौंडालाई सकड सम्पर्क गराउने सबैभन्दा छोटो दुरीको यो मार्गको लम्बाइ ६१ किलोमिटर रहेको छ ।
हेटौंडाबाट भीमफेदी-कुलेखानी-महालक्ष्मी पुल (मितेरी पुल) हुँदै चखेल, देउरालीबाट मातातीर्थ हुँदै सतुङ्गल सम्मको यो सडक हाल सञ्चालनमा रहेका र निर्माणाधीन हेटौँडा–काठमाडौँं जोड्ने सडकमध्ये सबैभन्दा छोटो छ ।
हेटौँडाबाट भीमफेदी, मार्खु, चित्लाङ हुँदै थानकोटको लम्बाइ ६७ किलोमिटर छ भने हेटौंडाबाट फाखेल खण्ड हुँदै ८० किलोमिटर र सिस्नेरी-दक्षिणकाली खण्ड हुँदै ८२ किलोमिटर छ ।
हेटौंडाबाट काठमाडौंको दूरी त्रिभुवन राजपथबाट १३२ किलोमिटर र पृथ्वी राजमार्गबाट २२४ किलोमिटर छ ।
तस्बिरः छिरिङ नोर्बु लामा












