भ्रष्टाचारमा सिँचाइ विभागका तत्कालीन डीजी, चन्द्रागिरिमा आलिसान घर, उपत्यकामै ४ ठाउँमा जग्गा
थानकोट ।
जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले ३ करोड ५६ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार उनीविरुद्ध ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
राजभण्डारीले सार्वजनिक सेवाको पद दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती दीपा श्रेष्ठको नाममा खरिद गरेको जग्गा, निर्माण गरेको घर, कम्पनीमा गरिएको लगानी, बिमा प्रिमियम समेत जफत गर्नुपर्ने मागदाबी लिएर मुद्दा दायर गरिएको छ । आरोपपत्रमा उनकी श्रीमती दीपा श्रेष्ठलाई पनि प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढी बढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदाबी लिई विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।
अख्तियार स्रोतका अनुसार राजभण्डारीले आफू तथा पत्नीको नाममा काठमाडौं उपत्यकामा मात्रै विभिन्न स्थानमा गरी ४ कित्तामा जग्गा खरिद गरेका छन् ।
श्रीमती दीपा श्रेष्ठको नाममा ललितपुरमा ३ कित्ता जग्गा, काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ मा एक कित्ता जग्गा खरिद गरेका छन् । चन्द्रागिरि १३ मा आलिसान घर बनाएर त्यहीँ बसोवास गर्दै आएका छन् ।
त्यसबाहेक दीपाको नाममा दाङमा २ कित्ता जग्गा, आफ्नै नाममा सोही जिल्लामा ३ कित्ता जग्गा पनि किनेका छन् ।
जलस्रोत तथा सिंचाई बिभागका तत्कालीन महानिर्देशक (अवकाश प्राप्त सु.ई.) मधुकर प्रसाद राजभण्डारी उपर रु.३,५६,७७,३४६।१७ बिगो कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र












