महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफी : पहिलो खेलमा अमेरिकासँग नेपालको लज्जास्पद हार
थानकोट ।
पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिका विरुद्धको खेलमा नेपाल पराजित भएको छ ।
रुवाण्डामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको हो । अमेरिकाले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७९ रनमा समेटियो ।
नेपालका लागि बिन्दु रावलले सर्वाधिक २७ रन बनाइन् । उनले ४५ बलको सामना गर्दै एक चौकाको मद्दतमा २७ रन जोडेकी हुन् ।
कविता जोशी ११ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न अमेरिकाका लागि माहि माधवन र तरनुम चोपराले समान दुई तथा रितु सिंह, लेखा शेट्टी र सैनभीले समान एक-एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय २३ रनको योगफल बनाएको थियो ।
प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेल नेपालले आइतबार इटलीसँग खेल्नेछ ।












