संस्थागत विद्यालयले बढी शुल्क लिए फोन गरेर उजुरी गर्न सकिने
थानकोट ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी शुल्क लिए फोन गरेरै गुनासो तथा उजुरी गर्न सकिने गरी शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।
हेल्प डेक्सको जिम्मेवारी केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरलाई दिइएको छ ।
उनलाई ९८५११२१४६३८ नम्बरमा सिधै फोन गरेर विद्यार्थीको शुल्कसम्बन्धी गुनासो तथा उजुरी गर्न सकिनेछ ।
शिक्षा मन्त्रालयले तोकिएकोभन्दा बढी शुल्क नलिन, लिएको भए पनि फिर्ता गर्न निर्देशन दिएको छ । यसका बाबजुद पनि विभिन्न निजी विद्यालयले भर्ना, वार्षिक शुल्कलगायत विभिन्न शीर्षकमा जथाभावी शुल्क लिएको भन्दै अभिभावकले गुनासो गर्नेक्रम नरोकिएको मन्त्रालयले जनाएको छ ।
सर्वोच्च अदादलले समेत शैक्षिकसत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गराउन आदेश दिइसकेको छ भने मन्त्रालयले निजी विद्यालयलाई शैक्षिकसत्र प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना नगर्न र स्वीकृत मापदण्डभन्दा बढी शुल्क नलिन पुनः सचेतसमेत गराएको छ ।
शिक्षा ऐन २०२८ अनुसार ऐनमा तोकिएविपरीत कुनै विद्यालयले शुल्क लिएमा फिर्ता गर्नुपर्ने वा बढी शुल्क लिने विद्यालयलाई २५ हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशका २०७२ अनुसार निजी विद्यालयले विभिन्न १४ वटा शीर्षकमा शुल्क लिन पाउँछन् ।
जसमा मासिक पढाइ शुल्क, वार्षिक शुल्क, भर्ना शुल्क, धरौटी शुल्क, परीक्षा शुल्क, कम्प्युटर शुल्क, स्थानान्तरण शुल्क, विशेष प्रशिक्षण शुल्क, आवास शुल्क, भोजन शुल्क, परिवहन शुल्क, शैक्षिक भ्रमण शुल्क, अन्तरविद्यालय प्रतियोगिता सञ्चालन र शैक्षिक सामग्री शुल्कबापत मात्रै विद्यालयहरूले शुल्क लिन पाउने व्यवस्था छ ।










