चन्द्रागिरिमा हुँदै नभएको वडामा प्रदेश सरकारको ४८ लाख बजेट
थानकोट ।
आगामी आर्थिक वर्षका लागि संघीय सरकार तथा सबै प्रदेश सरकारले बजेट वक्तव्य जारी गरिसकेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो क्षेत्रका लागि बजेट दिएको भन्दै केन्द्रीय तथा प्रादेशिक सांसद्हरूले धन्यवाद पाइरहेका छन् भने बजेट नदिएको भन्दै कटाक्ष गर्नेहरूको पनि कमी छैन् । तर प्रत्यक्ष र समानुपातिक रूपमा निर्वाचित भएका सांसद्हरूले आफ्नो क्षेत्रमा कुन स्थानीय तह पर्दछन्, ती स्थानीय तहमा कति वडा छन् भन्ने सामान्य हेक्का नराख्दा बजेट वक्तव्यको पुस्तिका हेर्दा यसले नीति निर्माण तहको जिम्मेवारी पाएका हाम्रा जनप्रतिनिधिहरू कति बेमतलबी छन भन्ने प्रष्ट हुन्छ ।
चन्द्रागिरि नगरपालिकामा १५ वटा वडा छन् ।
यी वडाहरूमा दोश्रोपटक जनप्रतिनिधिहरू चुनिएको पनि १ वर्ष बितिसकेको छ । नगरका वडा नंं ५ र ७ बाहेकका अन्य सबै १३ वटै वडाले आफ्नै कार्यालयबाट सेवा दिइरहेका छन् ।

तर, बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चन्द्रागिरि नगरपालिकाका हुँदै नभएका ३ वटा वडाका लागि २ वटा शीर्षकमा ४८ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयबाट बजेट विनियोजन भएका ३१३ योजनाहरू मध्ये चन्द्रागिरिका दर्जनाैं योजनाहरूमा बजेट परेका छन् । ती मध्ये अधिकांश योजना डिपबोरिङका छन् ।
प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाई डिभिजन नं. ५, भक्तपुरबाट कार्यान्वयन हुने गरी डिपबोरिङ खानेपानी आयोजना शीर्षकमा चन्द्रागिरि १९ र २१ का लागि ३८ लाख रूपैयाँ विनियोजन भएको छ ।
यसैगरी सोही कार्यालयबाट कार्यान्वयन हुने गरी चन्द्रागिरि २१ मा खानेपानी योजनाका लागि १० लाख रूपैयाँ विनियोजन भएको छ ।
भएको के हो ?
२०७१ मंसिर १६ गते स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौं जिल्लाको दक्षिण-पश्चिम भेगमा रहेको थानकोट, दहचोक, नैकाप नयाँभञ्ज्याङ, वाडभञ्ज्याङ, बलम्वु, महादेवस्थान, तीनथाना, सतुंगल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानोभञ्ज्याङ गरी जम्मा ११ गाउँ विकास समितिहरूलाई समेटेर जम्मा २५ वडा बनाई चन्द्रागिरि नगरपालिका घोषणा गरेको थियो ।
नेपालको संविधान अनुसार राज्य पुनसंरचना आयोगको पुनसंरचना पछि नेपाल सरकार, मन्त्रीपरिषदको २०७३ फागुन २२ को स्थानीय तह पुन:संरचनासम्बन्धी निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानीय तहको व्यवस्था लागू भइ चन्द्रागिरि नगरपालिकामा २५ बाट घटेर जम्मा १५ वडा कायम भएको थियो । जसमा साबिक थानकोट गाविस चन्द्रागिरि नगरपालिका ३ र ४, साबिक थानकोट महादेवस्थान गाविस चन्द्रागिरि ५, ६ र ७, साबिक सतुगंल गाविस चन्द्रागिरि १० र ११ भए भने बाँकी गाउँ विकास समितिहरू एक-एक वडाका रूपमा संरचित भयो ।
जनप्रतिनिधिहरू चुनिन थालेको ६ वर्ष पुगिसक्दा पनि संघ तथा प्रदेशका निकायहरूमा वडाहरूको संरचना अद्यावधिक नहुनुले हाम्राे अभिलेख व्यवस्थापन कतिको चुस्त दुरूस्त छ प्रष्ट हुन्छ तथापी यो समस्या चन्द्रागिरिको मात्र नभइ मुलुकका अधिकांश स्थानीय निकायमा देखिएको छ ।
यस किसिमका गम्भीर त्रुटीले नाम किटान हुन बाँकी रहि विनियोजन भएका बजेट कार्यान्वयमा वडा-वडाहरू बीचनै द्वन्द हुने निश्चित छ ।












