विश्वकप क्रिकेट छनोटः करण केसीको सानदार बलिङमा नेपालको जित, सुपर ६ को सम्भावना कायमै

Thankot Times

थानकोट ।

नेपालले आईसीसी विश्वकप क्रिकेट छनोटको आफ्नो दोस्रो खेलमा संयुक्त राज्य अमेरिकाविरुद्ध ६ विकेटको प्रभावशाली जित हात पारेको छ ।

मंगलबार जिम्बावेको राजधानी हरारेस्थित  तकसिंगा स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको २०८ रन लक्ष्य नेपालले ४२ बल बाँकी रहँदै ४ ब्याटरको नोक्सानीमा पूरा गर्यो । सो क्रममा भीम सार्कीको अविजित ७७ रन महत्वपूर्ण रह्यो । भीमसँग  दीपेन्द्रसिंह ऐरीले ३२ रनको अविजित पारी खेले ।

ओपनर कुशल भुर्तेलले ३९ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १३ रन थपे । कुशल मल्लले १३ र आसिफ शेखले १२ रन जोडे ।

त्यसअघि करणको उत्कृष्ट बलिङप्रेरित नेपालले टस हारेपछि ब्याटिङमा निम्त्याइएको अमेरिकालाई ४९ ओभरमा २०७ रनमै समेटेको थियो ।

अमेरिकालाई मध्यम योगफलमा रोक्न करणले चार विकेट लिएका थिए । नौ ओभर बलिङ गरेका करणले तीन मेडन राख्दै ३३ रनमात्र खर्चिए । करणले पहिलो इनिङको दोस्रो ओभरमा दुई विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यसपछि उनले आठौँ र १०औँ ओभरमा समान एक विकेट लिए ।

करण खेलको म्यान अफ दि म्याच चुनिए ।

नेपालले तेस्रो खेलमा बिहीबार विश्व विजेता वेष्ट इण्डिज तथा शनिबार नेदरल्याण्डस् को सामना गर्नेछ ।

प्रतियोगिता अन्तर्गत मंगलबार नै सम्पन्न खेलमा घरेलु टोली जिम्बावेले नेदरल्याण्डको चुनाैती सहजै पन्छाउँदा महत्वपूर्ण २ अंक  थपेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *