विश्वकप क्रिकेट छनोटः वेष्टइन्डिजसँग प्रतिस्पर्धा गर्दै नेपाल, जिते पनि इतिहास हारे पनि इतिहास !
थानकोट ।
बिहीबार नेपाली क्रिकेट इतिहासमा एक नयाँ परीक्षण हुँदैछ ।
खेलको अन्तिम परिणाम नेपालको पक्षमा आएमा यो दिन नेपाली क्रिकेट इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ । नतिजा उल्टिएमा पनि नेपाल विश्व क्रिकेटमा आफ्नो नाम लेखाउन सफल हुनेछ । अर्थात विश्वकप क्रिकेट छनोट अन्तर्गत आज हुने नेपाल र चारपटकको विश्व च्याम्पियन वेस्ट इन्डिजबीचको खेल आफैंमा एउटा इतिहास बन्नेछ ।
एकदिवसीय क्रिकेटमा नेपालले सामना गर्न लागेको वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो।
नेपालले दुईपटकको एकदिवसीय तथा दुई पटकको टी-ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने भएको हो।
नेपाल र वेष्टइन्डिजबीचको खेल हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ मा सुरु हुनेछ।
नेपालकै समुहमा रहेका अमेरिका र नेदरल्याण्स् बीचको खेल पनि आज नै हुनेछ । सो खेलमा पराजित भएका अमेरिका पहिलो चरणबाटै घर फर्कनेछ ।
वेष्टइन्डिजले आइसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधि जितेको थियो। १९७५ मा इंग्ल्यान्डमा आयोजना भएको पहिलो संस्करणको विश्वकपमा अष्ट्रेलियालाई पराजित गरि वेस्ट इन्डिजले उपाधी जितेको थियो।
इंग्ल्यान्डमै १९७९ आयोजना भएको दोस्रो संस्करणमा घरेलु टोलीलाई पराजित गरि वेष्टइन्डिज च्याम्पियन बनेको थियो। त्यस्तै वेष्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–ट्वेन्टी विश्वकप जितेको थियो। सन् २०१२ मा श्रीलंकालाई हराएर विश्व विजेता बन्दा २०१६ मा इंग्ल्याण्डलाई हराएर च्याम्पियन बनेको थियो।
नेपालसँगै समूह ए घरेलु टोली जिम्बावे, अमेरिका, नेपाल, वेस्ट इन्डिज तथा नेदरल्यान्ड्स रहेका छन्।
नेपालले घरेलु राष्ट्रसँग खेल्दै प्रतियोगिता गरेको थियो। नेपाल र जिम्बावेबीचको खेल नेपालले ८ विकेटले गुमाएको थियो।
नेपालको दोस्रो खेलमा अमेरिकाको चुनाैती ६ विकेटले पन्छाएको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात् असार ९ मा खेल्नेछ।
पछिल्लो अंक तालिका अनुसार समुह ए मा २ खेल खेलेको घरेलु टिम जिम्बावे ४ अंकका साथ पहिलो स्थानमा रहेको छ, १ खेल खेलेको वेस्ट इण्डिज २ अंकका साथ दोश्रो स्थानमा रहको छ ।
२ खेलबाट नेपालको २ अंक रहेको छ । नेपाल तेस्रो स्थानमा रहेको छ । २ खेल खेलेको अमेरिका र १ खेल खेलेको नेदरल्याण्डस् अंकविहिन छन् । समुह चरणको शीर्ष तीन स्थानमा रहेका टिम सुपर सिक्स चरणका लागि चयन हुनेछन् ।













