चन्द्रागिरिसँग सीमा जोडिएको थाहामा खानेपानी उपभोक्ता समितिलाई बोर्डमा आबद्ध हुन आव्हान
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा जारी भएको एकीकृत खानेपानी ऐनका विषयमा पक्ष र विपक्षमा बहस भइरहेको छ। ऐनका केही बुँदामा नगर क्षेत्रमा क्रियाशील उपभोक्ता समितिहरूले असन्तुष्टी जनाउँदै अदालतमा रिटसमेत दायर गरेका छन् ।
साउन २ गते चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र क्रियाशील खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूका नाममा सूचना जारी समितिहरूले साधारण सभा तथा लेखापरीक्षण प्रतिवेदन विवरण, समितिमा कार्यरत कर्मचारीहरूको विवरण, उपभोक्ता समितिमा मासिक रूपमा संकलन गरिने महशुलको विवरण, धारा जडान खर्च, नामसारी खर्च तथा धराैटी तथा अन्य शुल्कको विवरण १५ दिनभित्र अनिवार्य रूपमा सम्बन्धित वडा मार्फत बुझाउन भनेपनि खानेपानी उपभोक्ता समितिहरूले मंगलबार सो समयसीमा सकिँदा ती विवरण सम्बन्धित वडामा पेश नगरेको बुझिएको छ ।
चन्द्रागिरि नगरमा सञ्चालनमा रहेका खानेपानी उपभोक्ता समितिहरूले १५ दिनभित्र विवरण बुझाउनुपर्ने
यसैबीच चन्द्रागिरि नगरसँग सीमा जोडिएको मकवानपुरको थाहा नगरपालिकामा नगरले खानेपानी उपभोक्ता समितिलाई बोर्डमा आबद्ध हुन सूचनामार्फत आव्हान गरेको छ। थाहा नगरपालिकामा खानेपानी बोर्ड २०७६ सालमा गठन भइ कार्यान्वयनमा आइसकेको छ ।
नगरमा क्रियाशील उपभोक्ता समितिहरुलाई बोर्डमा आबद्ध हुन थप सूचना प्रकाशन गरिएको नगरले जनाएको छ । थाहा नगरपालिकाका १२ वटा वडामा ७६ वटा खानेपानी उपभोक्ता समितिहरु सञ्चालनमा बोर्डले जनाएको छ।
खानेपानी उपभोक्ता समितिहरु बोर्डमा आबद्ध हुँदै जाने र ती समिति संरक्षण समितिमा परिणत हुँदै जाने थाहा नगरपालिकाको स्थानीय कानूनमा उल्लेख छ ।
खानेपानी बोर्डको कार्यकारी समितिबाट भएको निर्णयका आधारमा नगरपालिकाले बोर्डमा आबद्ध हुनका लागि १५ साउनमा आव्हान गरेको हो ।
नगरपालिकाबाट जारी सूचना अनुसार थाहा नगरपालिकाको १ देखि १२ नम्बर वडासम्मका खानेपानी उपभोक्ताहरुले बोर्डमा आबद्ध हुनका लागि निवेदन पेश गर्न सक्नेछन् ।
निर्देशिका अनुसार बोर्डमा आबद्धताको लागि उपभोक्ता समितिहरुले वार्षिक साधारण सभा वा विशेष सभाले बोर्डमा आबद्ध हुने भनी गरेको सर्वसम्मत वा बहुमतको निर्णय, उपभोक्ता समितिको लेखापरीक्षण प्रतिवेदन, सम्बन्धित खानेपानी आयोजनालाई बोर्डमा आबद्ध हुन वा गराउन आयोजना रहेको वडा कार्यालयले बोर्डका नाममा लेखी पठाएको सिफारिस पत्र र उपभोक्ता समितिको निवेदन संलग्न गरी आबद्धताको लागि पेश गर्नुपर्नेछ बताइएको छ ।
थाहा नगरको खानेपानी सेवालाई एकीकृत रुपमा संचालनको लागि उपभोक्ता समितिहरुलाई बोर्डमा आबद्धता गराउन लागिएको थाहा नगर प्रमुख तथा बोर्डका अध्यक्ष विष्णु बहादुर विष्टले जानकारी दिए ।
विष्टले नगर क्षेत्रका उपभोक्ता समितिहरुलाई निर्देशिका बमोजिमको प्रक्रिया पूरा गरी बोर्डमा आबद्ध हुन आग्रह गरेका छन् ।
सूचना हेर्नुहोस्ः













