लाली-पाउडर किन्दा नेपालीले एक वर्षमा सके ५५ करोड रूपैयाँ, १ करोडको सिन्दुर आयात

थानकोट । 

 दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठुलो धनराशि खर्च भएको पाइएको छ। सिन्दूर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठुलो धनराशि बिदेसिएको छ। भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठुलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ। 

विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेल पोलिस’को आयातमा मात्रै पाँच करोड २७ लाख १८ हजार बाहिरिएको छ। त्यस्तै फेसक्रिम आयतमा ७८ करोड पाँच लाख ८१ हजार बिदेसिएको छ। त्यस्तै आर्थिक वर्ष २०७९/८० मा ४६ करोड नौ लाख ८९ हजार मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ। यसबाट सरकारले २३  करोड चार लाख ८३ हजार राजस्व सङ्कलन गरेको छ। 

विशेष गरी हिन्दु महिलाले प्रयोग गर्ने सिन्दूरको आयातमा पनि ठुलो धनराशि खर्च भएको छ। पछिल्लो एक वर्षमा मुलुकमा एक करोड पाँच लाख ६५ हजारको सिन्दूर आयात भएको छ। गत आवमा सिन्दूर भारत र इन्डोनेसियाबाट आयात भएको छ।

विभागका अनुसार गत आवमा तीन अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन्। कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो। 

गत आवमा ६३ करोड २१ लाख ३३ हजार मूल्यको स्याम्पु आयात भएको छ  भने ६९ करोड ७७ लाख ७९ हजार मूल्यका कपालमा लगाउने तेल आयात भएको छ। साथै सात करोड ३२ लाख ३८ हजार बराबरको कपालमा लगाउने क्रिम आयात भएको छ। 

त्यस्तै कण्डिस्नर आयातमा १० करोड ४५ लाख ४७ हजार खर्च भएको छ। कपाल रङ्गाउने वस्तु आयातमा ६२ करोड २० लाख ८३ हजार बाहिरिएको देखिन्छ। त्यस्तै कपाल हेरचारका अन्य वस्तु आयातमा ९७ करोड ६१ लाख २० हजार भन्दा बढी रकम बिदेसिएको छ।

विभागका अनुसार गत आवमा ओठ र आँखा शृङ्गारका सामान आयातमा करोडौँ बाहिरिएको छ। गत आवमा मेकअपका सामान आयातमा  ३६ करोड ४४ लाख ६० हजार बाहिरिएको छ। जसमा आँखा मेकअपका लागि मात्रै १९ करोड ४० लाख ८० खर्च भएको छ। त्यस्तै अन्य शृङ्गारका सामग्री आयातमा तीन अर्ब १३ करोडभन्दा बढी रकम मुलुकबाट बाहिरिएको छ। 

त्यस्तै विभागका अनुसार गत आवमा मुलुकमा ७१ करोड ३२ लाख ५८ हजार मूल्य बराबरको टुथपेस्ट (मञ्जन) आयात भएको छ। यस्तै, ५४ करोड ८४ लाख ८३ हजार मूल्य बराबरको मञ्जन निर्यात भएको छ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *