धरानमा सबैको ध्यान खिच्ने मच्छेगाउँको लाखेनाच (फोटो फिचर)

Thankot Times

थानकोट ।

नेवाः देय दबुको आयोजनामा सोमबार धरानमा वृहत् लाखे नाच प्रदर्शनी तथा सुनसरी जिल्लास्तरीय प्रतियोगिता भएको छ।

नेवाः समुदायको मौलिक जात्रा एवं संस्कृति संरक्षण, प्रवर्द्धन गर्न तथा मर्यादित बनाउन खुल्ला लाखेनाच प्रदर्शनी तथा प्रतियोगिता आयोजना गरिएको दबु धरानले जनाएको छ। दबु धरानका अध्यक्ष मनोहर शाक्यका अनुसार जिल्लास्तरीय प्रतियोगितामा धरान, इटहरी, वराहक्षेत्र, राम धुनी, चक्रघट्टी, मधुवन लगायत स्थानहरूबाट १६ वटा लाखेनाच समूहले भाग लिएको थियो भने ४ वटा समूह प्रदर्शनी मात्र गरेको थियो।

अध्यक्ष शाक्यले काठमाण्डौंबाट भोजपुर, संखुवासभा हुदै धरान आएका नेवार समुदायको संस्कृति लोप हुनबाट जोगाउन लाखे नाचमार्फत सांस्कृतिक जागरण ल्याएको बताए । संस्कृतिमा विकृतिमय हुनबाट जोगाउन मर्यादित र व्यवस्थित गर्न लाखे नाच प्रदर्शनी तथा प्रतियोगिता सुरुवात गरिएको पनि उनले बताए। “व्यवस्थित र मर्यादित बनाउने काम पनि गरेका छौँ । लाखे नचाउने संस्थाहरूलाई लाखे के हो, किन नाचिन्छ, लाखेसँग जोडिएको किंवदन्तीहरूलाई पनि प्रस्तुत गर्न आह्वान गरिएको छ,” उनले भने,“हाम्रो मौलिक संस्कृति नयाँ पुस्तालाई दिन सकेनौँ भने विकृति मौलाउन सक्छ भनेर पनि वृहत् प्रदर्शनी गरिएको ह ।”

धरानमा २०७२ मा पहिलो पटक पुर्वाञ्चलस्तरीय लाखे नाच प्रदर्शनी आयोजना भएको थियो । जिल्लास्तरीय लाखे नाच प्रतियोगिता यसपाली चौथो सँस्करण हो । प्रतियोगीबाहेक नेपाल सांस्कृतिक कला मन्दिर चन्द्रागिरि ९, मच्छेगाउँ काठमाण्डौंबाट आएको लाखेनाच र इटहरीको नेवा सांस्कृतिक कला पुचः महिला समूहको लाखेनाच विशेष आकर्षण रहेको थियो । समाजसेवी तथा नेवार समुदायका अगुवा मोहन श्रेष्ठले प्रतियोगिता हुँदा आकर्षण बढ्ने भए पनि कार्यक्रमले जातीय सद्भाव दर्साउने र सामाजिक एकता कायम गराउने बताए। “सँँस्कार, संस्कृति अघि बढाउँछ । यो नेवारको मात्र होइन, नेपालीहरूकै संस्कृति हो भन्ने पनि देखाउँछ,”उनले भने।

प्रतियोगितामा नेवाः देय दबु झुम्का राम धुनी प्रथम भएको छ भने नेवाः देय दबु मधुवन, वराहक्षेत्र दोस्रो भएको छ । साथै झिगु लाखे पुच धरान तेस्रो हुँदा नेवाः देय दबु बालग्राम इटहरीले सान्त्वना पुरस्कार पाएको छ । विजेताहरूले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र सान्त्वना ५ हजार पुरस्कार, प्रमाणपत्र हात पारेको छ । भानु चोकमा प्रदर्शनी तथा प्रतियोगिता आयोजना हुनुअघि लाखे नाचसहितको टोलीको र्‍यालीले धरान बजारको परिक्रमा पनि गरेको थियो। र्‍यालीमा प्रदेशसभा सदस्य यशोदा कायस्थ, मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा पनि सहभागी थिए।

नागरिक दैनिक,  रोहित राई


Leave a Reply

Your email address will not be published. Required fields are marked *