मध्यरातमा दक्षिणकाली कटुवाल दहस्थित बागमती नदीमा फसेका एक पुरूषको उद्धार

Thankot Times

थानकोट ।

बागमती नदीमा फसेका एक जना पुरूषको उद्धार भएको छ।

सशस्त्र प्रहरी बलले दक्षिणकाली नगरपालिका-८ कटुवाल दहस्थित बागमती नदी किनारमा फसेका एक जना पुरूषको उद्धार गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्‍द्र थापाले जानकारी दिए।

सोही वडाका ४० वर्षीय रामबहादुर लामाको उद्धार भएको हो।

पानीको बहाव कम हुँदा उनी नदी पारी पुगेका थिए। तर बहाव बढेसँगै उनी फर्किन सकेका थिएनन्। उनी किनार पहरामा बसेका थिए।

नदीमा फसेको भन्दै आफन्तले प्रहरीलाई खबर गरेको थियो।

प्रहरीले उद्धारको लागि सशस्त्रलाई खबर गरेपछि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट गोताखोर सहितको ९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट गएको १५ जनाको टोली खटिएको थियो।

त्यसक्रममा बुधबार बिहान २ बजे लामाको उद्धार भएको हो। टोलीले रोप रेस्क्यु, मोटरबोट र अन्य विधि प्रयोग गरी उद्धार गरेको हो।

सशस्त्र प्रहरीले लामालाई आफन्तको जिम्मा लगाएको बताएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ