संविधान दिवसका अवसरमा चन्द्रागिरि घर भएका संजीतसहित १४ जना कैदीले पाए माफी
थानकोट ।
मकवानपुरमा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट १४ जना कैदी थुनामुक्त भएका छन् । संविधान दिवसको अवसरमा बुधबार सरकारले देशभरका ६७० जनाको कैदीको कैद मिनाहा गर्ने क्रममा भीमफेदी कारागारका १४ जना कैदी थुनामुक्त भएका हुन् ।
कारागारमा कैदी जीवन बिताइरहेका ४० देखि ५० प्रतिशत कैद भुक्तान गरेका तथा असल आचरण भएका १४ जना कैदी थुनामुक्त भएको जेलर तीर्थराज पौडेलले बताए । थुनामुक्त हुनेमा मकवानपुरका ६ जना रहेका छन् ।
ठगी मुद्दामा सजाय भोगिरहेका हेटौंडा-११ का पूर्णभक्त लामा, डाँका मुद्दामा कैद भुक्तान गरिरहेको मकवानपुरगढी-८ का प्रेमबहादुर स्याङ्तान, नकवजनी मुद्दामा कैद भुक्तान गरिरहेका इन्द्रसरोवर गाउँपालिका-३ का अष्ट वाइबा, हेटौंडा-११ का राजकुमार तामाङ, राक्सिराङ गाउँपालिका-८ का कृष्णलाल थिङ र इन्द्रसरोवर गाउँपालिका-३ का बुद्धिमान सिंह ब्लोन रहेका छन् ।
यसैगरी कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटिरहेका तनहुँका भानु नगरपालिका–६ का सुकबहादुर नेपाली, खुन–डाँका मुद्दामा सजाय भोगिरहेका नवलपरासी रामग्राम नगरपालिका-१६ का बृजनन्दन राजभर, कर्तव्य ज्यान मुद्दाका धनुषा नगराइन नगरपालिका–८ का ललन पासवान र लमजुङको राइनास नगरपालिका-८ का प्रकाश नेपाली रहेका छन् ।
कर्तव्य ज्यान मुद्दाका सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-३ का बसन्त खड्का, नकवजनी चोरी मुद्दाका नवलपरासी देवचुली नगरपालिका-१५ का अर्जुन थापामगर, चोरी मुद्दाका काठमाडौंको चन्द्रागिरि नगरपालिका-७ का संजीतबहादुर बाग्दास र नकवजनी चोरी मुद्दाका भारतका जाफिर खान रहेको जेलर पौडेले बताए ।
इकान्तिपुरबाट











