नागढुंगा-कलंकी रूटमा द्रुत बस सेवा फोस्सा हुने सम्भावना
थानकोट ।
संविधान दिवसको अवसर पारेर गत असोज ३ गते सूर्यविनायकबाट रत्नपार्कसम्म सुरु गरिएको द्रुत बस सेवा १ महिना नपुग्दै अघोषित रूपमा बन्द भएको छ ।
द्रुत बस सेवाका लागि छुट्याइएको डेडिकेटेड लेनमा पोतिएका रातो रङ समेत मेटिन थालिसकेका छन्। सो क्रममा करोडाैं रकम खर्च भएको थियो । अहिले सो द्रुत बस सेवा लेनमा ती बसहरू मुस्किलले देख्न सकिन्छ ।
पर्याप्त पूर्वाधार नपुग्दै लोकप्रियताका लागि द्रुत बस सेवा शुरु गरिएको कतिपयको आरोप लगाएका छन् । हुन पनि द्रुत बस सेवाले सडकमा पाउने भनिएको प्राथमिकता देखिन छाडेको छ भने सो सेवा उपलब्ध गराएबापत व्यवसायीले सरकारबाट पाउने सुविधासमेत अन्योलमा छ ।
गत असोज ३ गते संविधान दिवसका दिन भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा नागढुंगा-कलंकी रूटमा समेत शिघ्र सुरु हुने घोषणा गरेका थिए । भएकै द्रुत सेवा बन्द प्रायः भएको अवस्थामा चन्द्रागिरि बासीले सो सेवा लिने सपना हाललाई फोस्सा भएको छ ।
यद्यपी यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले चाडपर्वको बेला यात्रुबसहरू राजधानी बाहिरका लागि बढि गइरहेकोले द्रुत बस सेवा कम गुडेको प्रतिक्रिया दिए ।










