एसियन विच गेम्स: नेपाल सेमिफाइनलमा, पदक पक्का
थानकोट ।
चीनको सान्यामा जारी छैटौँ एसियन विच गेम्समा महिला कबड्डी टोलीले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ ।
यो सँगै प्रतियोगितामा नेपालको कम्तिमा एक काश्य पदक पक्का भएको छ ।
शनिबार बिहान भएको खेलमा नेपालले थाइल्यान्डलाई ४९–३३ अंकले पराजित गरेको हो ।
यसअघिको खेलमा नेपालले चाइनिज ताइपेईलाई ४८–३२ अंकले पराजित गरेको थियो ।
विभिन्न १४ खेल सहभागी प्रतियोगितामा महिला विच कबड्डीमा सात राष्ट्रले सहभागिता जनाएका छन् ।
अब नेपालले आइतबार लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।
शुक्रबारको लागि तय भएको बंगलादेशसँगको खेल वर्षाका कारण आइतबारको लागि सारिएको थियो ।
यदि, बंगलादेशलाई जितेमा नेपाल समूह विजेता बन्नेछ ।
दुई समूहमा बाँडिएको महिला कबड्डीमा प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।
प्रतियोगितामा नेपालबाट महिला कबड्डी र कुस्ती गरी दुई खेलले सहभागिता जनाइरहेको छ ।











