इलाम गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबको पोल्टामा
थानकोट ।
इलाम गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लब, काठमाडौँले हात पारेको छ ।
यससँगै मछिन्द्रले नगद १० लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।
गत वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) लाई शून्यका विरुद्ध दुई गोल गर्दै मछिन्द्रले उपाधि जितेको हो ।
इलामको ठुलो टुँडिखेलमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलको ४७ औँ मिनेटमा मछिन्द्रका सौरभ लिम्बूले पहिलो गोल गरेका थिए ।
खेलको ५० औँ मिनेटमा मिलन राईले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।
अघिल्ला दुई संस्करणको विजेता एनआरटीले गोल गर्ने थुप्रै अवसर प्राप्त गरे तापनि सफल हुन सकेन र उपविजेतामा चित्त बुझाउनु पर्यो । एनआरटीले नगद ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।
फाइनल खेलको ‘म्यान अफ द म्याच’ मछिन्द्रका प्रदीप बुढाथोकी घोषित भए । उनले नगद ८ हजार १०० रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा आठ टोली सहभागी थिए ।
तस्बिर : कोकिला ढकाल










