दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुर्दन फुटबल एकेडेमीलाई

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ६ मातातीर्थ बालागाउँस्थित फुटबल मैदानमा गत असोज २० गतेबाट सुरु भएको दोश्रो मातातीर्थ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि तीनथानाको कुर्दन फुटबल एकेडेमीले जितेको छ ।

शुक्रबार दिउँसो सम्पन्न प्रतियोगिताको फाइनलमा नक्सालस्थित स्टार ११ को चुनाैती ४-० ले पन्छाउँदै कुर्दनले दोश्रो प्रयासमा उपाधि चुमेको हो ।

कुर्दन गत संस्करणको फाइनलमा किसिपिडी युथक्लबसँग पराजित हुँदा उपविजेतामा सीमिति भएको थियो ।

उपाधिसँगै कुर्दनले ३ लाख रूपैयाँ नगदसहित ट्रफी हात पारेको छ । उपविजेता स्टार ११ ले नगद २ लाख तथा ट्रफी प्राप्त गर्यो ।

प्रतियोगिताको तेस्रो स्थानको लागि भएको खेलमा सोल्टी नेपाललाई पराजित गर्दै स्वतन्त्र युवा क्लबले नगद १ लाख रूपैयाँ तथा ट्रफी हात पार्यो ।

स्वतन्त्र युथ प्रतियोगिताको अनुशासित टिम समेत घोषित भयो ।

स्वतन्त्रका उज्वल राईले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे, उनले प्रतियोगिता अवधिभर व्यक्तिगत ५ गोल गरेका थिए । स्वतन्त्रकै राम वाजी प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी चुनिए ।

यसैगरी प्रतियोगिताको उत्कृष्ठ डिफेन्डरको उपाधि कुर्दन फुटबल एकेडेमीका रोहित थापा चुनिँदा कुर्दनकै सन्तोष महत सर्वोत्कृष्ठ गोल रक्षक चुनिए । व्यक्तिगत विधा तर्फ उत्कृष्ठ भएका सबै खेलाडीहरूले नगद १० हजार रूपैयाँ तथा ट्रफी हात पारे ।

विजयीहरूलाई बागमती प्रदेश सभा सदस्य द्वय रमा आलेमगर तथा विन्दु श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरका विभिन्न वडाका वडाध्यक्षहरू तथा सदस्यहरू लगायतले पुरस्कार वितरण गरेका थिए ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाले आयोजना गरेको प्रतियोगितामा १९ टिम सहभागी भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *