छैठाैं नैकाप गोल्डकपः यस्तो छ दोश्रो चरणको खेल तालिका

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरको सबैभन्दा ठूलो खेल उत्सव नैकाप गोल्डकप फुटबल प्रतियोगिताको छैठाैं संस्करण अन्तर्गत पहिलो चरणका खेलहरू सकिएसँगै दोश्रो चरणका खेलहरू अर्को साताबाट सुरु हुँदैछन् ।
प्रतियोगिताको पहिलो चरणमा डिफेन्डिङ च्याम्पियन तारकेश्वर युथ क्लबको यात्रा नमिठो पराजयसँगै सकिँदा विभागीय क्लब त्रिभुवन आर्मीको नैकाप गोल्डकपमा पहिलो सहभागिता यादगर रहन सकेन् ।

कार्तिक १४ गते मंगलबार दोश्रो चरणका खेलहरू सुरु हुने प्रतियोगिताको पहिलो दिन क्लिन भिजनले मध्यपुर जागरूकको सामना गर्नेछ। क्लिन भिजनले पहिलो चरणमा डिफेन्डिङ च्याम्पियन तारकेश्वर युथ क्लबको चुनाैती पन्छाएको थियो भने मध्यपुरले विभागीय क्लब त्रिभुवन आर्मीको चुनाैती पन्छाएको थियो ।
प्रतियोगिताको दोश्रो चरणमा न्यू चन्द्रसूर्य र ब्लुबेल एफसीले बाइ पाउँदा सिधै तेस्रो चरणका लागि खेल्नेछन् ।
ब्लुबेल फुटबल क्लबले कार्तिक १४ गते हुने कुर्दन फुटबल एकेडेमी र विजयपुर युथ क्लबबीचको खेलको विजेतासँग कार्तिक १७ गते खेल्नेछ ।
यसैगरी न्यू चन्द्रसूर्यले कार्तिक १६ गते हुने हामी दाजुभाई फुटबल क्लब र गणेशमान स्मृति फुटबल क्लबबीचको विजेतासँग कार्तिक १८ गते खेल्नेछ ।

चन्द्रागिरि स्पोर्टस् एकेडेमीको आयोजनामा चन्द्रागिरि नगरपालिका १४ नैकापस्थित नैकाप फुटबल मैदानमा जारी प्रतियोगिताको दोश्रो चरण अन्तर्गत कार्तिक १४, १५ र १६ गते समान २-२ खेल सञ्चालन हुनेछन् ।
कार्तिक १७ गते र १८ गते अन्तिम ८ का खेल सञ्चालन हुँदा कार्तिक २२ गते सेमीफाइनलका दुवै खेल हुनेछन् भने कार्तिक २५ गते यमपञ्चकको दोश्रो दिन उपाधि छिनोफानो हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख रूपैयाँ नगद पुरस्कार पाउँदा प्रतियोगिताको उपविजेता हुनेले दुई लाख पचास हजार रूपैयाँ नगद पुरस्कार पाउने आयोजक चन्द्रागिरि स्पोर्ट्स एकेडेमीका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिनुभयो ।

प्रतियोगिताका दुई सेमिफाईनलिष्ट टोलीले ५०-५० हजार रूपैयाँ प्रोत्साहन रकम हात पार्नेछन् ।

यसैगरी व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद पुरस्कार हात पार्नेछन्।

प्रतियोगिताका हरेक खेलका उत्कृष्ठ खेलाडीले २ हजार रूपैयाँ नगद पुरस्कार तथा ट्रफी पाउनेछन् ।

गत वर्षबाट प्रदान गर्न सुरु गरिएको चन्द्रागिरि स्पोर्टस् अवार्डले यसपटक पनि निरन्तरता पाउने भएको छ । चन्द्रागिरि नगर क्षेत्रका विभिन्न खेलमा सक्रिय खेलाडी वा प्रशिक्षकमध्ये सर्वाधिक सफल खेलाडी वा योगदानकर्ता प्रशिक्षकलाई प्रदान गरिने सो अवार्डको पुरस्कार राशी ५० हजार रूपैयाँ रहनेछ । गत संस्करणमा भलिबल स्टार प्रतिभा मालीले यो सम्मान प्राप्त गरेकी थिइन् ।

पाँचाै संस्करणमा ब्लुबेल एफसीलाई स्तब्ध बनाउँदै तारकेश्वर युथ क्लबले उपाधी चुमेको थियो । तारकेश्वर चाैथों संस्करणको पनि डिफेन्डिङ च्याम्पियन थियो ।  यसपटक भने तारकेश्वर पहिलो चरणबाट घर फर्किएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *