छैठाैं नैकाप गोल्डकपः आजबाट दोश्रो चरणका खेलहरू सुरु हुँदै, पहिलो दिन २ खेल हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरको सबैभन्दा ठूलो खेल उत्सव नैकाप गोल्डकप फुटबल प्रतियोगिताको छैठाैं संस्करण अन्तर्गत आज मंगलबारबाट दोश्रो चरणका खेलहरू सुरु हुँदैछन् ।

प्रतियोगिताअन्तर्गत आज २ खेल हुनेछन् । आज हुने खेलका विजेता टोलीहरू अन्तिम ८ का लागि छनोट हुनेछन् ।

दिनको पहिलो खेलमा आज चन्द्रागिरि नगरपालिका-५ आकाश टोलको क्लिन भिजन यूनिटीले भक्तपुरको मध्यपुर जागरुक युवा क्लबको सामना गर्नेछ । यो खेल दिउँसो १ बजे नैकापस्थित फुटबल मैदानमा सुरु हुने तालिका रहेको छ ।

पहिलो चरणमा क्लिन भिजनले साबिकको च्याम्पियन तारकेश्वर युथमाथि सनसनी पूर्ण जित हात पारेको थियो भने मध्यपुरले पहिलोपटक नैकाप गोल्डकपमा सहभागिता जनाएको विभागीय क्लब त्रिभुवन आर्मीको चुनाैती पन्छाएको थियो ।

क्लीन भिजन र मध्यपुरबीचको खेलको विजेताले कार्तिक १७ गते हुने क्वाटर फाइनल खेलमा भोलि हुने वाणस्थली युथ सोसाइटी र बार्सा नेपालबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यसैगरी, आज नै हुने दोश्रो चरणको दोश्रो खेलमा कुर्दन फुटबल एकेडेमीले विजयपुर युथ क्लबको दिउँसो ३ बजे सामना गर्नेछ ।

कुर्दन पहिलो चरणमा गुणकेशरीमाथि जित हात पार्दै दोश्रो चरणका लागि छनोट भएको थियो भने विजयपुरले पहिलो चरणमा नेपालय कलेजलाई पराजित गरेको थियो ।

कुर्दन र विजयपुरबीचको खेलको विजेताले क्वाटरफाइनलमा ब्लुबेल फुटबल क्लबको कार्तिक १७ गते सामना गर्नेछ ।

ब्लुबेल भने सिधै तेस्रो चरणका लागि चयन भएको हो ।

चन्द्रागिरि स्पोर्ट्स एकेडेमीको आयोजनामा जारी छैठाैं नैकाप गोल्डकप प्रतियोगिताको विजेताले ५ लाख रूपैयाँ पुरस्कार पाउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *