‘बाबु एड्भेन्चर्स’ले सुरु गर्‍यो प्याराग्लाइडिङ सेवा, चन्द्रागिरिबाट उड्ने चित्लाङमा ओर्लने

Thankot Times

थानकोट ।

प्याराग्लाइडिङ सेवा प्रदायक कम्पनी ‘बाबु एड्भेन्चर्स’ले चन्द्रागिरिमा प्याराग्लाइडिङ सेवा सुरु गरेको छ।

साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौं उपत्यकाबासीलाई लक्षित गर्दै सेवा विस्तार गरिएको कम्पनीका संचालक सानुबाबु सुनुवारले बताए।

‘मुलुकभर प्याराग्लाइडिङ खेल विस्तार गर्ने अभियान सुरु गरेका छौँ। काठमाडौंमा जनघनत्व धेरै भएकाले यसको छिटो र प्रभावकारी सन्देश फैलाउन सकिने आशा लिएका छौँ,’ संचालक सुनुवारले भने, ‘हामी ‘क्रस कन्ट्री’ उडानका लागि पनि तयार छौँ।’

व्यावसायिक योजना सुरु गरेको ६ वर्षपछि चन्द्रागिरीमा यो सेवा सुरु गरेको उनले जानकारी दिए। उनका अनुसार भालेश्‍वर मन्दिरबाट २० मिनेट पश्‍चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरु हुन्छ।

चन्द्रागिरि (२३०० मिटर)बाट सुरु भएको उडानले आकाशमा थप १ सय मिटरसम्म उचाइ लिने उनले जानकारी दिए। समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङ अवतरण हुने उनले बीजमाण्डुलाई बताए।

उडानका क्रममा पर्यटकले भालेश्‍वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौं उपत्यकाको अधिकांश भुभागको अवलोकन गर्न सकिने उनले जानकारी दिए। रसुवा र धादिङका भु-भाग समेत देख्‍न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङलगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिने उनले बताए।

कम्पनीले सरकारी मापदण्डअनुसार एकैपटकमा १२ प्याराग्लाइडरको उडान अनुमति लिएर सेवा संचालन गरेको उनले जानकारी दिए। काठमाडौं नजिकैको हिलस्टेसन चन्द्रागिरिमा सुरु भएको यो खेलका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

आउजाउ, तस्बिर, भिडियो समावेश गरिएको यो प्याकेजमार्फत पर्यटकले १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान सेवा लिन सक्ने कम्पनीले जनाएकोछ। यही प्याकेज विदेशी पर्यटकका लागि भने १२ हजार रुपैयाँ निर्धारण गरिएको जनाइएको छ।

कम्पनीको सवारीमा जाने-आउने सुविधा नलिने नेपाली पर्यटकले भने ७ हजार २ सय रुपैयाँमै यो खेलमा सहभागी हुन पाउने जनाइएको छ। यसमा सहभागी पर्यटकले कालो चस्मा र विन्ड चिटरको प्रयोग अनिवार्य गर्नुपर्ने कम्पनीले जनाएको छ।

मुलुककै पहिलो प्याराग्लाइडिङ प्रशिक्षक पाइलट सुनुवारले स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल संचालन गर्दै आएका छन्।

सगरमाथाको आरोहण गरी शिखरबाटै प्याराग्लाइडिङ उडान गरेर समुन्द्रसम्म पुगेका सुनुवार नेसनल जियोग्राफ्रीबाट  ‘एडभेन्चर्स अफ इयर-२०१२’ अवार्ड विजेता हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *