चन्द्रागिरि नगरक्षेत्रमा ह्वात्तै बढ्याे घरजग्गाकाे काराेबार
थानकोट ।
गत आर्थिक बर्ष २०७९/८० को असोज महिनाको तुलनामा चालु आर्थिक बर्ष २०८०/८१ मा काठमाडौँ उपत्यकामा घरजग्गा कारोबार ४८ प्रतिशतले बढेको छ ।
गत वर्षको असोजमा एक हजार पाँच सय ९६ संख्यामा मात्र घरजग्गा कारोबार भएको थियो। चालु आर्थिक बर्षका सोहि अवधीमा दुई हजार तीन सय १५ संख्यामा घरजग्गाको कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।
काठमाडौँमा ६ वटा मालपोत कार्यालय छन्ः कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु। यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ । ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।
काठमाडौँमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट छ।
कलंकी कार्यालयबाट असोजमा ७ सय २९ संख्यामा घरजग्गा कारोबार भएको छ । यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौँ महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरि, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन् ।













